काठमाडौं – नेकपा एमालेको संसदीय दलको शनिबारको बैठकले संसदबाहिरको राजनीतिक र गुटगत भेलालाई पनि आफ्नो क्षेत्राधिकारभित्र पार्दै त्यसो गरेमा कारवाही गर्न सक्ने गरी विधान संशोधन गरेको छ । संशोधित विधान अनुमोदनका लागि शनिबार नै केन्द्रिय कमिटीमा पठाइएको छ ।
यसअघि संसदीय मामिलामा दलको नेताको निर्देशनमा प्रमुख सचेतकले जारी गर्ने ह्विप उल्लंघन गर्ने सांसदमाथिमात्र कारवाही प्रक्रिया अगाडि बढाउन सक्ने प्रावधान थियो । संशोधित विधानमा संसद र संसदीय समितिबाहिर पनि पार्टी नीति र निर्देशनविपरीतको राजनीतिक र गुटगत भेला गरे पनि सांसदमाथि कारवाही गर्न सकिने गरी विधान संशोधन गरिएको हो ।
तत्कालीन नेकपामा पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर ओलीविरुद्ध अभियान चलाइरहेका झलनाथ खनाल र माधवकुमार नेपालले सर्वोच्च अदालतले एमाले ब्युँताइदिएपछि पनि समानान्तर भेला सन्चालन गरिरहेको सन्दर्भमा उनीहरुमाथि कारवाही गर्ने उद्देश्यले विधान संशोधन गरिएको हो । संशोधित विधानलाई अनुमोदनका लागि केन्द्रिय कमिटीमा पठाइएको छ ।
एमालेको संसदीय दल तथा केन्द्रिय कमिटी दुवैमा ओलीको बहुमत छ । ओलीनिकट एक नेताका अनुसार केन्द्रिय कमिटीबाट तत्काल विधान अनुमोदन गराएर खनाल, नेपाल र तत्कालीन नेकपामा रहँदा ओलीविरुद्ध चर्को रुपमा खनिएका केही नेताविरुद्ध कारवाहीको प्रक्रिया अगाडि बढाइने छ ।