काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टीको नवौँ महाधिवेशनबाट निर्वाचित आफूसहितका नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय हास्यास्पद भएको बताएका छन् । समाजिक सञ्जाल ट्वीटरमा मार्फत नेता रावलले केपी शर्मा ओलीको निर्णयलाई पूर्णत अस्वीकार गर्ने बताएका हुन् ।
त्यस्तै उनले नेकपा एमालेको विधान उलंघन गर्दै फागुन २८ गते मनपरी निर्णय गर्ने र पार्टी विभाजनको रेखा कोर्ने केपी ओलीले नै जनता र पार्टीलाई स्पष्टीकरण दिनुपर्ने माग राखेका छन् ।
रावलले ट्वीटमा लेखेका छन्, ‘राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान र हितको पक्षमा उठाइएको आवाजबाट त्रसित भई विदेशो गुप्तचर प्रमुखसँग राति मन्त्रणा गर्ने, नेपालको संविधान मिच्दै जनादेशमाथि प्रहार गरी प्रतिनिधि सभा विघटन गर्दै प्रतिगमनको षडयन्त्र गर्ने केपी ओलीजीले अवैध कमिटीको कथित निर्णयबाट मसमेत नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका साथीहरूलाई कारबाहीका लागि स्पष्टीकरण सोध्ने कथित निर्णय गर्नु अवैध र हास्यास्पद छ । यस्तो निर्णयलाई म पूर्णत अस्वीकार गर्दछु । ‘
केपी शर्मा ओलीले शनिबार केन्द्रीय समिति बैठकबाट रावलसहित ४ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए । उनीहरुमाथि पार्टी हित विरुद्ध काम गरेको, नेतृत्व र पार्टीलाई खुइल्याउन लागिपरेको, सरकारको बदनाम गर्दै गुटगत भेला गरेको जस्ता आरोप लगाइएको छ ।