काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ पछि आफूलाई झनै शक्तिशाली महसुस गरेको बताएका छन्। आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ५६ औँ अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा आयोजित ‘नेपाली दलित आन्दोलनको कार्यदिशा’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘हामी बालुवाटार र सिंहदरबार वरिपरि घुम्ने भइएको थियो। केपी ओलीले संसद् विघटन गरेर हामीलाई सडकमा पुर्याइदिनुभयो। सडकमा पुर्याउने भनेको जनतामा जाऊ भनेको हो। हामीलाई दलित, जनजाति, मजदुर किसान र आम नेपाली जनताको बीचमा लगेर फालिदिनुभयो। उहाँले हामीलाई सिध्याउन खोज्नुभएको थियो। तर, हामी आफूमा लागेको धुलोमैलो पनि टक्टक्याउँदै फेरि जनताको मुद्दा लड्ने ठाउँमा पुर्याइदिनुभयो। पुस ५ गतेपछि त म आफूलाई झनै शक्तिशाली महसुस गर्न थालेको छु। फेरि जनताको प्रतिनिधिको रुपमा लडाइँ लड्ने अवसर प्राप्त भएको छ।’ , प्रचण्डले भने।
उनले नेपालको राजनीतिमा लोकतान्त्रिक गणतन्त्र, संविधान, समानुपातिक समावेशी व्यवस्थालाई निस्तेज पार्न देशभित्रका हिजोका गणतन्त्रविरोधी, सामन्तवादका दलालहरु, देशबाहिरका प्रतिक्रियावादीहरु लागिरहेको र उनीहरुले त्यसका लागि ओलीलाई प्रयोग गरेको आरोप समेत लगाए। ‘२०/२५ वर्ष विदेशीले हुर्काएका ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई नास गर्न लागिरहेका छन्’ , उनको आरोप थियो।
ओलीले अनेक सेटिंङ गरेर पार्टी नै पहिलेकै अवस्थामा फर्काइदिएको समेत प्रचण्डले आरोप लगाए।