काठमाडौं । अमेरिकाको कोलोराडो राज्यस्थित बोल्डर सहरमा बन्दुकधारीको गोली प्रहारबाट एक प्रहरीसहित १० जना मारिएका छन् ।कोलोरोडोको बोल्डर काउन्टीको एक ग्रोसरी स्टोरमा बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरेपछि प्रहरीले जवाफी कारबाही गरेको थियो । प्रहरीको कारबाहीबाट घाइते भएको अवस्थामा एक संदिग्धलाई पक्राउ गरेको छ ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेनले घटना प्रति दुख व्यक्त गर्दै अमेरिकामा सर्वसाधारणले बन्दुक राख्न पाउने कानुनी व्यवस्था भएका कारण बेला बेलामा यस्ता घटना हुने गरेको भन्दै यसबारे समीक्षा गर्नुपर्ने प्रतिक्रिया दिएका छन् ।
घटनापछि त्यस क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । ती व्यक्तिले गोली किन चलाए भनेर नखुलेको र घटनाबारे अनुसन्धान थालिएको बताइएको छ । यसभन्दा अगाडि पनि दक्षिणपूर्वी राज्य जर्जियामा एक स्पामा गोली चल्दा एशियाली मुलका आठ जनाको मृत्यु भएको थियो ।