२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

'कुलिङ अफ पिरियड' विवाद : कसले के भने ?

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । संघीय निजामती सेवा विधेयकमा रहेको 'कुलिङ अफ पिरियड'को व्यवस्थाबारे भएको हेरफेरले अहिले चर्को रुप लिएको छ । प्रतिनिधि सभाबाट पारित भएको निजामती विधेयकमा कर्मचारीका लागि लागू गरिने 'कुलिङ पिरियड'मा हेरफेर गरिएको भन्दै विभिन्न सांसदहरुले विरोध जनाइरहेका छन् ।

नेकपा (एमाले) का सांसद् पदम गिरीले निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा षड्यन्त्र गर्नेले कारबाही भोग्नुपर्ने बताएका छन् । मंगलबार सभामुख देवराज घिमिरेसँग प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिका सदस्यको छलफलपछि उनले षड्यन्त्र गर्नेले राजीनामा दिनुपर्ने बताएका हुन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिंदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

नेकपा एमालेका सांसद् सूर्य थापाले कुलिङ पिरियड हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले लिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सर्वसम्मतिबाट संसदमा पेस भई पारित भएको निजामती सेवा विधेयक अनधिकृत रूपमा परिवर्तन गरिनु संसद्प्रति गरिएको अपमान भएको बताएका छन् ।

उनले आज सामाजिक सञ्जालमार्फत यो कुनै सामान्य घटना नभई, देश र जनताप्रति गरिएको घोर अपराध र सार्वभौम संसद्प्रति गरिएको अपमान भएको उल्लेख गरेका छन् ।

रास्वपाकी सांसद सुमना श्रेष्ठले निजामती विधेयकमा कुलिङ पिरियडबारे भएको छेडखानीबारे राज्यव्यवस्था समितिका सांसदहरूले थाहा थिएन भन्न नमिल्ने तर्क गरेकी छन् ।

उनले भनिन्, ‘कुलिङ पिरियडमा बाहेक शब्द कहाँबाट आयो भन्ने चर्चा चलिरहेको छ । त्यो मूल विधेयकमा छ, जब मूल विधेयकमा बाहेक शब्द हटाइन्न, त्यति बेलासम्म त त्यो कायम रहन्छ । त्यस कारणले कर्मचारीतन्त्रलाई दोष देखाएर सांसदहरू उम्किनको लागि सार्वभौमतामाथि आक्रमण भयो भनियो। त्यो मलाई गलत लाग्छ ।’

कुलिङ पिरियडका सन्दर्भमा समितिको प्रतिवेदनमै नरहेको बाहेक शब्द छलछामपूर्वक घुसाइएको भन्दै यो विषय बहसमा छ।

प्रतिनिधि सभाबाट पारित भएको विधेयकमा समितिमा सहमतिभन्दा बाहेकका विषय परेको भन्दै समितिका सदस्यहरूले सभामुख देवराज घिमिरेलाई भेटेर मंगलबार ध्यानाकर्षणसमेत गराएका छन्।

राज्य व्यवस्था समितिले दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेको भनेर गरेको प्रचारका आधारमा विधेयकका पाना पढ्दै नपढी सांसदहरूले जस्ताको त्यस्तै पारित गरे । जसले गर्दा विधेयकको दफा ४ ले गरेको व्यवस्थालाई दफा ५ ले खण्डित गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ