काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जनताको प्रत्यक्ष दैनिकीसँग जोडिएको खानेपानी तथा सरसफाइजस्ता सेवा सबै नागरिकमा समन्यायिक तरिकाले पुर्याउन प्रादेशिक तथा क्षेत्रीय सन्तुलन मिलाएर बजेट तर्जुमा गरिएको बताएका छन् ।
आज खानेपानी मन्त्रालयको आर्थिक वर्ष २०८२–८३ को वार्षिक कार्यक्रम तथा विनियोजित बजेटका सम्बन्धमा राष्ट्रियसभामा सांसदहरूले राखेका चासो, जिज्ञासा र दिएको सुझावको सम्बोधन गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।
परिवर्तित जीवन शैलीका कारणले बढ्दो खानेपानीको मागको चुनौतीलाई व्यवस्थापन गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्याउनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले सबैका सल्लाह सुझावलाई समेटेर आगामी दिनहरूमा मन्त्रालयले नीतिगत सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री सुडीले मुलुकको कूल जनसङ्ख्याको करिब ६६ प्रतिशत सहरी जनसङ्ख्या र बाँकी सहरोन्मुख क्षेत्र रहेको हुँदा परिवर्तित जीवन शैलीका कारणले बढ्दो खानेपानीको मागको चुनौतीलाई व्यवस्थापन गर्दै सुरक्षित खानेपानी तथा सरसफाइ सेवा पुर्याउनु अपरिहार्य रहेको बताए ।
यसैगरी उनले आगामी आवको लागि खानेपनी मन्त्रालयतर्फ जम्मा रु ३३ अर्ब ८९ करोड बजेट विनियोजन भएको तथा जसमा नेपाल सरकारको स्रोततर्फ रु २४ अर्ब ६४ करोड, वैदेशिक ऋणतर्फ रु सात अर्ब ७५ करोड र वैदेशिक अनुदानतर्फ रु एक अर्ब ५० करोड रहेको जानकारी दिए ।
कूल बजेटमध्ये विनियोजनतर्फ जम्मा रु २० अर्ब ७२ करोड, वित्तीय व्यवस्थातर्फ रु आठ अर्ब ९४ करोड र प्रदेश र स्थानीय तहबाट कार्यान्वयन हुने सङ्घीय सशर्तका कार्यक्रम–आयोजनाको लागि रु चार अर्ब २२ करोड बजेट रहेको उनको भनाइ छ ।
मन्त्री सुडीले तीनै तहको सरकारका वार्षिक कार्यक्रममा खानेपानीसँग मात्र सम्बन्धित भई सरसफाइको क्षेत्र भने प्राथमिकतामा पर्न नसकिरहेको तथा सङ्घीय सरकारबाट केही ढल प्रशोधनका आयोजनाहरू सञ्चालनमा रहे तापनि पर्याप्त नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस