काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदय शम्शेर राणाले पछिल्लो समय पार्टीभित्र अराजकता र अनुशासनहीनता मौलाएको टिप्पणी गरेका छन् । मंगलबार केन्द्रीय समिति बैठकमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारका कामकारवाहीबारे असन्तुष्टि भएपनि सडक र सदनमै व्यक्तिगत तहमै टिप्पणी गर्ने प्रवृत्ति ठीक नभएको बताए ।
उनले सांसदहरु अनुशासनमा बस्न जरुरी रहेको बताए ।
केन्द्रीय सदस्य राणाले बैठकमा राखेको धारणा :
केन्द्रीय बजेटमा राम्रा पक्षहरु पनि छन् । कतिपय छुटेका पनि छन् तर समग्रमा धेरै असन्तुष्ट भइहाल्ने पक्षमा म छैन । तर दुर्भाग्य, हाम्रै पार्टीले सम्हालेका मन्त्रालयको बजेटमाथि प्रश्न उठेको छ । यसको कारण के हो ? कहाँ कमजोरी भयो ? मन्त्रीहरुले पार्टीसँग समन्वय गर्नुपर्ने थियो, त्यो भएन ।
मन्त्रीहरुले आफ्नो ठाउँमा कार्यक्रम त हाल्नुभयो तर यसले समग्र पक्षलाई समेट्न सक्यो कि सकेन । यो समिक्षाको विषय हो । दुई चार क्षेत्रमा राम्रो बजेट गएपनि अधिकांश कांग्रेस निर्वाचित क्षेत्रमा बजेट राम्रो भएन भन्ने गुनासो हामी सबैले सुनिरहेका छौं । हामीले मन्त्रीलाई सोध्दा उहाँहरुले अर्थलाई देखाउनुहुन्छ, अर्थलाई सोध्दा अर्काेलाई देखाउने काम भयो ।
कतिपय प्रदेशको बजेट त झनै खतम छ । हाम्रै बागमति प्रदेशको बजेट निकै विवादमा परेको छ । तर मेरो जोड के हो भने बजेटप्रति हाम्रा असन्तुष्टि छन् भने पनि यहि बैठकमा राख्ने हो तर यहाँ त सदनदेखि सडकमै आक्रोश पोख्ने काम भयो । त्यो राम्रो भएन । यस्तो कार्यलाई पार्टीले रोक्नुपर्दछ । बजेट ल्याउँदा मन्त्रीले पार्टीसँग र पार्टीले मन्त्रीसँग समन्वय गर्नुपर्दछ तर मन्त्रीमाथि व्यक्तिगत रुपमै आरोप लगाउने कुरा गलत छ ।
सोसल मिडिया परिचालन:
सोसल मिडियाको समय छ । हामी यसमा निकै पछाडि छौं । मैले पहिला दुइटा केन्द्र समितिको मिटिङमा पनि यो विषय उठाएको थिए ।
यसको असर भिजिट भिसा प्रकरणमै देखियो । कर्मचारीको गल्तीमा मन्त्रीलाई दोषी भन्ने न्यारेटिभ क्रिएट गरेको छ । यसम हामीले केहि गर्न सकेनौं किनभने हाम्रो सोसल मिडिया डिजिटल मिडिया क्याम्पेन जिरो छ र यही किसिमले हामी अगाडी गर्ने हो भने अर्को चुनावमा हामीलाई समस्या पर्छ।
जबकी सहकारीमा रवि लामिछानेको संलग्नताको विषय अदालतले नै उठाइरहेको छ तर आममानसमा रविलाई फसाइयो भन्ने न्यारेटिभ बनाइएको छ । हाम्रो सोसल मिडिया डिजिटल मिडिया मिडियामा हाम्रो जुन उपस्थिति छ त्यही उपस्थितिको साथ यो अब हामी स्थानीय, र संसदीय निर्वाचनमा गयौं भने हाम्रो नतिजा अपेक्षित नहुनसक्छ ।
भ्रातृसंस्थाको अधिवेशन :
म पनि एउटा भ्रातृ संगठनको अधिवेशन जिम्मा पाको व्यक्ति हुँ । मैले यसका लािग पार्टी सभापतिबाट सहयोग पाएको छु । पक्कै पनि अरु सबै भातृ संगठनका साथीहरुले पनि पाउनुभएको छ। यो भन्दा पहिला म नेपाल तरुण दलको केन्द्रिय अध्यक्ष पनि थिए। र मेरै नेतृत्वमा पोखरामा ०७३ सालमा हामीले अधिवेशन सम्पन्न गर्यौ।
नौ दश वर्ष अगाडी तरुण दल छोड्दा खेरि सबै जिल्लामा तरुण दलको संगठन इन्ट्याक्ट थियो र विशेष गरेर हाम्रो पार्टी संगठनको निम्ति चुनावको निम्ति सबै भ्रातृ संगठन शुभेच्छुक संगठनको महत्व हुन्छ तर विशेष गरेर नेवि संघ, महिला संघ र तरुण दल यो पार्टीलाई अत्यन्तै आवश्यकता भएको संगठन हो । यी संगठनको अधिवेशन नभएका कारण यसको असर पार्टीलाई पनि पर्छ चुनावमा । अरुलाई दोष लाउनुभन्दा पनि हामीहरु सबै मिलेर भ्रातृ संगठनका नेतृत्व निर्देशन समितिका साथीहरु मिलेर अधिवेशन गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस