काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले केपी ओली नेतृत्वको यो सरकार धेरै दिन नटिक्ने बताएका छन् । बुधबार केन्द्रीय कार्यालय पेरिसडाँडामा समसामयिक राजनीतिक घटनाक्रमबारे पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
उनले सरकारको कार्यशैलीबारे कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा उकुसमुकुस भएको बताए ।
असार १६ गतेदेखि सानेपामा जारी कांग्रेसको केन्द्रीय समिति बैठक नेताहरूले एमालेसँग गठबन्धन गर्नुको औचित्यबारे नेतृत्वमाथि प्रश्नै प्रश्न उठाएका थिए । सो विषयमा सबैभन्दा ठुलो दल नेपाली कांग्रेसमा सबैभन्दा ठुलो अन्तर्विरोध पैदा भइराखेको र अन्तर्विरोध, असन्तुष्टि र आक्रोशलाई कांग्रेस नेतृत्वले थाम्न नसक्ने उनले बताए ।
उनले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा ‘जालसाजी’ भएको भन्दै गम्भीर आपत्ति जनाए । समितिमा भएको सहमति विपरीत विधेयक संसदमा पेस गरिएकामा आपत्ति जनाउँदै उक्त घटनाले संसद्, संसदीय समिति र सांसदहरूको नैतिकता, निष्ठा र योग्यता माथि प्रश्न उठाएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस