२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रतिनिधिसभा : जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदान गर्न सांसदहरूको सुझाव

बुधवार , आषाढ २५, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मङ्गलबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सीमापार विपद्का सम्बन्धमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन् ।

उनीहरूले चीनका विभिन्न क्षेत्रमा जोखिम अवस्थामा रहेका हिमतालको खतरा नेपालमा समेत देखिएको बताउँदै समाधानका लागि सूचना आदानप्रदान र सहकार्य गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका हुन् ।

बैठकमा सांसद राजेन्द्र बजगाईँले मङ्गलबार रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतलाई तीव्रता दिन सरकारसँग माग गरे । उनले यस्ता विपद्को समाधानका लागि कूटनीतिक रूपमा पहल गर्नुपर्ने सुझाए ।

सांसद बजगाईँले पशुपतिनाथ मन्दिर परिसर हतियार निषेधित क्षेत्र भएकाले राजनीतिज्ञ वा सुरक्षाकर्मी कसैले पनि हतियार लैजान नहुने धारणा राखे ।

सांसद नारायणप्रसाद आचार्यले बुटवलबाट पाल्पा जाँदै गरेको मोटरसाइकलमा मङ्गलबार पहिरोको ढुङ्गा खसेर दुर्घटनामा परी एकको निधन र एक जना घाइते भएका घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सजगता अपनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद माधवप्रसाद सापकोटाले रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको शीघ्र खोजी र उद्धारका लागि माग गरे । उनले चिनियाँ पक्षले उक्त घटनाका बारेमा जानकारी गराए पनि सजगता नपनाइएको उल्लेख गर्दै सीमा क्षेत्रमा जोखिममा रहेका हिमतालका सम्बन्धमा चिनियाँ सरकारसँग वार्ता गरी सूचना आदानप्रदान गर्ने उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद नारायणप्रकाश साउँदले ६२ प्रतिशत जनता कृषिमा आधारित भएको मुलुकमा किसानलाई समयमा रासायनिक मल र बीउ पुर्याउन नसक्नु दुःखद् पक्ष भएको उल्लेख गर्दै मुलुकभित्रै मल कारखाना खोल्नका लागि पहल गर्न सरकारसँग आग्रह गरे ।

सांसद रणेन्द्र बरालीले सुनचाँदी व्यवसायीले विभिन्न माग राखी आन्दोलन घोषणा गरेको २१ दिन हुँदा पनि सुनुवाइ नभएको उल्लेख गर्दै वार्ताबाट माग सम्बोधन गर्न आग्रह गरे । उनले हाल सुनमा भन्सार शुल्क, विलासित कर, ज्याला र नाफा जोडेर उपभोक्तालाई ४३ प्रतिशत अतिरिक्त शुल्क लाग्ने गरेको बताउँदै यस्तो अवस्थाको अन्त्य गर्नुपर्ने माग गरे ।

सांसद शेरबहादुर कुँवरले भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको बताउँदै हराइरहेका व्यक्तिको तत्काल खोजी गर्न आग्रह गरे । उनले साँफेबगरमा केही दिनअघि एक जना व्यक्तिको करेन्ट लागेर निधन भएको जानकारी गराउँदै तत्काल राहतको व्यवस्था गर्न र आगामी दिनमा त्यस्ता घटना नियन्त्रणमा प्राधिकरणको ध्यानाकर्षण गराए ।

सांसद शान्ति विकले सुमेरु कन्सल्टेन्सीले भिजिट भिसामा जापान पठाउने नाममा विभिन्न व्यक्तिसँग ठूलो रकम लिएको बताउँदै अर्कालाई मानव तस्करी गरेको आरोप लगाउने गरेको टिप्पणी गरिन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण टोलीमा रहेका केही व्यक्ति उतै छोडेको भनी प्रधानमन्त्रीलाई मिथ्या आरोप लगाउने काम भएको भनी खेद प्रकट गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ