काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको ठहर गरेको छ ।
आज बसेको कोइराला पक्षको बैठकले अनुशासन समितिले नै अनुशासन उल्लङ्घन गरेको आरोप समेत लगाएको छ ।
बैठकमा सहभागी नेता राजेन्द्र बजगाईँले पार्टी विधानले उजुरी परेको ६ महिनाभित्र कारबाही गरिसक्नुपर्नेमा सो अनुसार नभएको बताए ।
उनले भने, ‘उजुरी, निवेदन परेको समय अवधिको हिसाबले ६ महिनाभित्रमा कारबाही गर्नुपर्ने विधानले भनेको छ, त्यो पनि घन्टा मिनेट नै गनेर, त्यो अनुरूप नभएको भएर यो ९कारबाही० वैधानिक छैन भन्ने कुरामा छलफल भयो ।’
काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा बसेको बैठकमा समूहका नेता कोइरालाले अनुशासनको कारबाहीप्रति असहमति राखेका र अनुशासन समितिका दुई सदस्यले यो कारबाहीप्रति ‘नोट अफ डिसेन्ट’ नै लेखेको जानकारी दिएका थिए ।
नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको थियो । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोपमा कारबाही गरेको हो ।
प्रतिक्रिया दिनुहोस