२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

विकासको मार्गमा सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ : मन्त्री यादव

आइतवार , आषाढ २९, २०८२

कैलाली । खानेपानी मन्त्री प्रदीप यादवले देश र नागरिकको विकासको मार्गमा सरकार जनताको अगाडि होइन काँधमा काँध मिलाएर सँगसँगै अगाडि बढ्ने बताएका छन् । आज कैलाली जिल्लाको लम्की चुहा नगरपालिका स्थित लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था अन्तर्गत लम्कीचुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले खानेपानी क्षेत्रलाई सामाजिक न्याय र समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी रहेको बताए ।

उनले भने, ‘समावेशी विकाससँग जोडेर नागरिकको जीवनस्तर सुधार गर्ने सरकारको प्रयास निरन्तर जारी छ । सरकार जनतासँग काँधमा काँध मिलाएर अगाडि बढ्छ ।’ यसैगरी मन्त्री यादवले सुदूरपश्चिम प्रदेशको प्रदेश राजधानी समेत रहेको कैलाली जिल्ला जिल्लामा विकासका थुप्रै पूर्वाधार निर्माण गरिएका भए पनि लम्की चुहा नगरपालिकामा खानेपानीको निकै समस्या भएका कारण यहाँका नागरिकलाई स्वच्छ, सुरक्षित खानेपानी प्रदान गर्ने उद्देश्यले उक्त आयोजनाको शिलान्यास गरिएको उल्लेख गरे ।

‘देशका हरेक नागरिकको आधारभूत अधिकार सुरक्षित खानेपानी र सरसफाइ पहुँच सुनिश्चित गर्नु हाम्रो सर्वोच्च प्राथमिकता र दीर्घकालीन नीतिगत प्रतिबद्धता हो,’ उनले भने, ‘यही राष्ट्रिय लक्ष्यलाई सार्थक बनाउँदै हामी अहिले गाउँ–सहर, हिमाल–पहाड–तराईसम्मका सबै बस्तीमा खानेपानी तथा सरसफाइका पूर्वाधार निर्माणमा नयाँ गति, पारदर्शिता र गुणस्तर थपिरहेका छौँ ।’

सुरक्षित खानेपानी सबै नागरिकका लागि मौलिक अधिकार मात्रै होइन, समृद्धि र सामाजिक न्यायको आधार पनि हो भन्ने दृष्टिकोणले सरकारले यस क्षेत्रमा दीर्घकालीन नीतिगत सुधार र पूर्वाधार विस्तारमा विशेष जोड दिइरहेको समेत मन्त्री यादवले जानकारी दिए ।

उक्त आयोजनालाई सफल बनाउनका लागि नेपाल सरकार, लम्की चुहा नगरपालिका र खानेपानी उपभोक्ता समितिको त्रिपक्षीय सहकार्य अपरिहार्य रहेको तथा तोकिएको समयमै आयोजना सफल पार्न समेत मन्त्री यादवले सबैमा आग्रह गरे ।

उनले भने, ‘आयोजनाले लम्की चुहाका बासिन्दाहरूको जीवनमा सुख, समृद्धि र स्वस्थता ल्याओस् भन्ने कामना गर्दै हामी सबै मिलेर ‘स्वच्छ पानी, स्वस्थ जीवन’ को अभियानलाई सार्थक बनाऔँ ।’ लम्की चुहा नगरपालिकाका नगरप्रमुख सुशीला शाहीले लम्की चुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि खानेपानी समस्याबाट पीडित यहाँका नागरिकलाई निकै राहत हुने भन्दै खुसी सहित धन्यवाद व्यक्त गरे ।

खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक इन्जिनियर रामकुमार श्रेष्ठले लम्की चुहा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण सम्पन्न भएपछि लम्की चुहा नगरपालिकाको वडा नं. १, २, ३, ४ र ५ का कम्तीमा पनि ७४ हजार ५०० नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने बताए ।

उनका अनुसार यस आयोजनामा नेपाल सरकारको ७० प्रतिशत, खानेपानी उपभोक्ता समितिको २५ प्रतिशत र लम्की चुहा नगरपालिकाको ५ प्रतिशत लागत साझेदारी रहेको छ । लम्की चुहा सह लगानी खानेपानी तथा सरसफाइ आयोजना प्याकेज दुई निर्माण गर्न यही असार २३ गते निर्माण व्यवसायी सुप्रिम जयमाता जेभी र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालयबिच ठेक्का सम्झौता भई सोही दिन आयोजना कार्यालयले तोकिएको मिति भित्रै निर्माण सम्पन्न गर्न कार्यादेश दिइएको आयोजना प्रमुख अरुणकुमार कर्णले जानकारी दिए ।

उनका अनुसार मूल्य अभिवृद्धि करसहित कुल रु २९ करोड ४८ लाख ३२ हजार ४९९ मा भएको ठेक्का सम्झौता अनुसार आउँदो २०८५ साल असार २५ गते भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ । शिलान्यास कार्यक्रममा खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, सहसचिव ई.कमलराज श्रेष्ठ, लम्की साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारीहरू, निर्माण व्यवसायी एवं अन्य उपभोक्ताहरूको पनि सहभागिता थियो

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट