कञ्चनपुर — कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ निगालीमा छाउगोठमा सुतिरहेकी २८ वर्षीया कमला आउजीको सर्पदंशबाट मृत्यु भएको घटनालाई गम्भीर रुपमा लिदैं पीडित परिवारलाई राहत र आवश्यक आर्थिक सहायता उपलब्ध गराउन सरकारसँग आग्रह गरेका छन्।
प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद तारा लामा तामाङले शनिबार राति ८ बजे सुतिरहेकै क्रममा सर्पले टोकेपछि उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकी आउजीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिएका हुन् ।
प्राप्त जानकारीअनुसार मृतक हालै भारतबाट घर फर्किएकी थिइन्। उनका श्रीमान् भारतमै छन् भने उनीहरूका तीन सन्तान छन् — १५, १२ र ५ वर्षका छोराहरू। परिवार अत्यन्तै विपन्न अवस्थाबाट गुज्रिरहेको बताउंदै सांसद तामाङले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
उनले भने, “२१औँ शताब्दीमा कञ्चनपुरमै यस्तो घटना घटिरहेको छ भने पहाडी जिल्लाहरू — अछाम, बाजुरा, डोटी, बझाङ लगायतका क्षेत्रमा छाउपडी प्रथा अझै भयावह रूपमा कायमै छ।” तामाङले छाउपडी उन्मूलनका लागि प्रभावकारी सचेतनामूलक कार्यक्रम सञ्चालन, कानूनको पूर्ण कार्यान्वयन, र स्थानीय सरकारसँग समन्वयमा तीव्र अभियान सञ्चालनको माग गरे।
संसदको गरिमा र अभिव्यक्तिमा संयमता आवश्यक
सांसद तामाङले संसदमा पछिल्लो समय देखिएको असंयमित, तथ्यहीन र घृणाजन्य अभिव्यक्तिप्रति गम्भीर चिन्ता व्यक्त गरे । उनले संसदलाई समाधानको मञ्च बनाउनेतर्फ सबै सांसद गम्भीर बन्नुपर्नेमा जोड दिँदै भने, “संसदको मञ्चमा बोलेका शब्दहरूले भविष्यको इतिहास लेखिन्छ। त्यसैले संयमता, जवाफदेहिता र तथ्यमा आधारित अभिव्यक्ति अत्यावश्यक छन्।”
उनले सामाजिक सञ्जाल र मिडियामा फैलिने गलत सूचना, भ्रमपूर्ण अभिव्यक्ति र घृणाजन्य प्रचारले समाजमा गम्भीर असर पारिरहेको उल्लेख गर्दै संसदभित्र पनि त्यसको प्रभाव देखिन थालेको चिन्ता व्यक्त गरे ।
“झुटा शिक्षक, झुटा भविष्यवक्ता, भ्रम फैलाउने व्यक्तिहरूबाट संसद प्रभावित हुँदैछ कि भन्ने आत्मपरीक्षण आवश्यक छ,” तामाङले भने।
सांसद तामाङले संसद नियमावलीअनुसार असंयमित र मर्यादाहीन अभिव्यक्तिमा कडाई गर्न सभामुखको ध्यानाकर्षण गराउँदै भने, “संसदको गरिमा सभामुखको जिम्मेवारी मात्र होइन, सबै सांसदहरूको साझा दायित्व हो।”
बाढी र पहिरोप्रति सरकार उच्च सतर्क रहोस्
बर्षायाम सुरु भएसँगै कञ्चनपुरसहित देशका विभिन्न नदीहरूमा बाढीको जोखिम बढेको भन्दै सांसद तामाङले जनधनको क्षति न्यूनीकरणका लागि सरकारलाई उच्च सतर्कताका साथ तत्काल कदम चाल्न आग्रह गरेका छन्।
प्रतिक्रिया दिनुहोस