logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    डिल्लीबजार कारागारमा रेशम चौधरीले हात हल्लाउँदै भने: म जनताको थिएँ, छु र रहनेछु (भिडियो)

    डिल्लीबजार कारागारमा रेशम चौधरीले हात हल्लाउँदै भने: म जनताको थिएँ, छु र रहनेछु (भिडियो)

    7.5K
    Shares

    काठमाडौं । प्रतिनिधिसभा ब्यूँतिएसँगै सत्ता समीकरणको चलखेल तीब्र भइरहेका बेला सांसदकै रुपमा तीन वर्षदेखि जेलमा रहेका रेशम चौधरी एकाएक चर्चामा आएका छन् । सत्ता जोगाउन र सत्ता पल्टाउन चाहने दुवैले चौधरीका नाममा सौदाबाजी गरिरहेका छन् । बाहिर उनका नाममा जे जस्तो राजनीतिक दाउपेच भए पनि आखिर उनी के चाहन्छन् भन्ने आम चासोको विषय बनेको छ ।

    वास्तवमा के चाहन्छन् त डिल्लीबजारस्थित कारागारमा रहेका रेशम चौधरी ? यसबारे बुझ्न सुनौलो नेपालको विशेष टिमले उनलाई कारागारमै गएर भेटेको छ । हाम्रो गोप्य क्यामरामा विभिन्न हाउभावमा उनले व्यक्त गरेका धारणा यो रिर्पोटमा प्रस्तुत गरिएको छ ।  

    २०७२ भदौ ७ गते टिकापुरमा भएको एक हिंस्रक घटनामा एक बालक र प्रहरीसहित ९ जनाको हत्या भएको थियो । त्यसमध्येका एक मुख्य आरोपी रेशम चौधरी यतिखेर जन्मकैदको फैसलासहित डिल्लीबजारस्थित कारागारमा थुनामा छन् । 

    जिल्ला अदालत, कैलालीको २०७५ फागुन २२ गतेको फैसलालाई सदर गर्दै उच्च अदालत, दिपायलले २०७७ पुस १९ गते चौधरीलाई जन्मकैदको फैसला सुनायो । रेशमलाई सो फैसला उपर चित्त नबुझेकाले सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् ।

    पहिलो, मिति २०७२ भदौ ८ मा प्रहरी नायब निरीक्षक मानबहादुर बोहोरा समेतले दिएको जाहेरी दरखास्तमा रेशमको नाम उल्लेख गरिएको छैन । दोश्रो पटक, २०७२ भदौ २० मा शारदा कडायत समेतको पुरक जाहेरी दरखास्तमा रेशमको नाम उल्लेख छ । विभिन्न प्रमाणहरुले टीकापुर घटना भएका बेलामा रेशम घटनास्थल वरिपरि थिएनन् भन्ने स्पष्ट पारेको छ । उनको मोबाइलको सम्पर्क विवरणले यी कुरा पुष्टि गर्छ । उनी त्यो दिन विभिन्न समयमा लम्की, चिसापानी, गुलरिया र भीगौड पुगेका कल विवरणले देखाएको छ । यी प्रमाणहरु अदालतसँग पनि सुरक्षित छन् । तर आन्दोलनको आह्वानकर्ता भएकाले प्रहरीले उनीविरुद्ध मुद्दा दायर ग¥यो र दुई तहको अदालतले उनलाई जन्मकैदको फैसाला सुनाएको छ । 

    तत्कालीन राजपा (हाल जसपा) बाट कैलाली क्षेत्र नम्बर १ बाट करिब २५ हजार मतान्तरले निर्वाचित सांसद हुन् रेशम चौधरी । यतिखेर राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगेका छन् उनै रेशम चौधरी । नेकपा एमाले र माओवादी केन्द्रलाई गत फागुन २३ को फैसलाबाट सर्वोच्च अदालतले ब्यूँताइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक रुपमा अल्पमतमा परेका छन् । माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिए उनले विश्वासको मत लिनुपर्नेछ ।

    हुन त एमालेभित्र पनि यतिखेर विभाजनका रेखा कोरिएका छन् । तर पनि एमाले एक सय २१ सिटसहित संसदमा पहिलो दलका रुपमा छ, एक सांसद दिवंगत छन् । आश वा त्रास देखाएर एमालेलाई एक ढिक्का राख्न सकेको खण्डमा ओलीलाई विश्वासको मत लिन १७–१८ सांसद संख्या आवश्यक छ । त्यसैले उनले यतिखेर दुई निलम्बित सांसदसहित ३४ सिटको जनता समाजवादी पार्टी (जसपा) लाई फकाइरहेका छन् । 

    जसपा अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महत्तोलगायतसँग प्रधानमन्त्री ओली निरन्तर औपचारिक÷अनौपचारिक संवादमा छन् । जसपाको यो खेमाले रेशम चौधरीको रिहाई लगायतको माग राखेको छ, जसमा ओली सकारात्मक रहेको प्रतिक्रिया आइरहेको छ । यसै सन्दर्भमा सुनौलो नेपालको विशेष टिमले कारागारमै गएर रेशम चौधरीलाई भेटेको छ । उनीसँगको संवाद विशेष परिस्थिति र केही पेशागत मर्यादाका कारण हामी हुबहु प्रस्तुत गरिरहेका छैनाँै । मात्र हाम्रो भेट पुष्टि हुने दृश्य सामाग्री यो भिडियोमा प्रस्तुत छ । 

    हामीसँगको भेटमा रेशमले आफू निर्दोष रहेको पटकपटक जिकिर गरे । ‘स्वभाविक रुपमा हामी आन्दोलनमा थियौँ । म आन्दोलनको क्षेत्रीय संयोजक थिए । तर मेरो जोड सदैव शान्तिपूर्ण आन्दोलनमा थियो । दुर्भाग्यबस म त्यस दिन घटनास्थलमा थिइँन, म भएको भए परिस्थिति फरक हुन्थ्यो । हिंसा हुने सवाल नै हुन्थेन । तर पनि मैले फोनमार्फत् साथीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न र संयम कायम राख्न निर्देशन दिइरहेको थिए । त्यसका बाबजुद टिकापुरमा जे भयो, त्यसमा मेरो गहिरो दुःख छ,’ उनले हामीसँग भने, ‘यदि म घटनाको दोषी हुन्थे भने त्यति धेरै जनताले मलाई आफ्ना प्रतिनिधिका रुपमा किन निर्वाचित गर्नुहुन्थ्यो ? यो पनि मेरो निर्दोषिताको एक प्रमाण हो ।’

    यतिखेर सत्ता समीकरणमा आफ्नो नाम जोडिएकोमा पनि उनले चिन्ता व्यक्त गरे । ‘मलाई भेट्न प्रधानमन्त्री केपी ओलीनिकट माननीय महेश बस्नेत पनि भेट्न आउनुभएको थियो । उहाँले केही कानुनी जटिलता भए पनि हामी तपाईलाई छुटाउन प्रयासरत छौ भनेर बचन दिनुभएको छ । प्रधानमन्त्रीकै तहबाट उहाँले बचन दिनुभएको हो । तर जसपाको सत्तारोहण मसँग मात्र जोडिनु मलाई प्रियकर लागेको छैन । मधेसका अन्य तमाम मुद्दा छन्, ती पुरा भए भने म जेलमै पनि खुशी छु । पार्टीले गर्ने निर्णय म सिरोपर गर्छु,’ उनले हामीसँग भने । 

    उनले हामीलाई एउटा गीत पनि सुनाए, जसको आशय थियो : ‘म धेरै जनताको मतबाट जितेकाले चारैतिरबाट जनताले घेरिएको छु, त्यसैले चार दिवारभित्र छु भनेर चित्त बुझाएको छु । यो जेलको घेरा मलाई मेरा मतदाताको घेराजस्तो लागेको छ ।’ अत्यधिक मतले चुनाव जिते पनि चौधरीलाई सुरुमा लागेको थियो, आफू तत्कालै फर्कँदा सामाजिक सद्भाव खल्बलिन्छ कि ? चुनाव जितेको खबर पाउँदा उनी नेपालनिकटको भारतीय सीमामा पानीपुरी खाँदै थिए रे । ‘जनता नै सर्वेसर्वा हुन्, चुनाव जित्नासाथ जनताकै बीचमा अबिरमाला लगाउन पाउँदाको अनुभूति प्रियकर हुन्थ्यो होला, तर त्यसबेला मलाई केही भिन्न महसुस भएन,’ उनको भनाई थियो । 

    हामी कुराकानीमै थियौँ । उनलाई उपल्लो तलाबाट कसैले बोलायो । उनले बिदाईमा हामीलाई हात हल्लाउँदै भने, ‘म जनताको थिएँ, छु र रहनेछु । मेरो यत्ति सन्देश पु-याइदिनुहोला ।’
     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend