२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

दिक्तेलमा कोशी प्रदेशको पूर्वाधार विकास कार्यालय

शुक्रवार , श्रावण २, २०८२

खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडामा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले कोशी प्रदेशभित्र पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेअनुसार बिहीबार खोटाङको दिक्तेल बजारमा पूर्वाधार विकास कार्यालय स्थापना गरिएको हो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हाटडाँडामा कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालय पूर्वाधार विकास निर्देशनालयको मातहतमा रहनेगरी पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै अब खोटाङवासीले योजनाको फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता हटेको छ । भाडाको घरमा स्थापना गरिएको कार्यालय कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले औपचारिक रूपमा उद्घाटन गरे।

मन्त्री राईले विकास निर्माणका कामलाई छिटो र गुणस्तरीय बनाउन कोशी प्रदेशमा पर्ने १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गर्ने निर्णय गरेको बताए । “पूर्वाधार विकास कार्यालय नहुँदा जिल्लामा परेका योजनाका फाइल बोकेर उदयपुर, ओखलढुङ्गा, विराटनगरलगायत जिल्ला धाउनुपर्ने बाध्यता थियो । अब १४ वटै जिल्लामा योजना सम्झौतादेखि फरफारकसम्मका सबै काम हुन्छ”, उनले भने, “जिल्लाजिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना भएसँगै निर्माण व्यवसायीलाई सहज हुनुका साथै विकासे योजनाका काम छिटो, गुणस्तरीय र जनमुखी हुने अपेक्षा गरिएको छ । यो संघीयताको उपलब्धि पनि हो ।”

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरे, सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधि, निर्माण व्यवसायीलगायतको उपस्थिति थियो ।

मन्त्रालयबाट १३ जना कर्मचारीको दरबन्दी कायम गरेर स्थापना गरिएको पूर्वाधार विकास कार्यालयमा कार्यालय प्रमुखसहित तीन जना कर्मचारी हाजिर भएका छन् । बाँकी १० जना कर्मचारीसमेत केही दिनभित्रै उपलब्ध गराएर कार्यालय सञ्चालन गर्ने तयारी गरिएको मन्त्रालयका सचिव साहले जानकारी दिए ।

कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार मन्त्रालयबाट यस आर्थिक वर्ष खोटाङमा एक सय ५१ वटा योजनाका लागि बजेट विनियोजन भएको मन्त्री राईको सचिवालयका कर्मचारी सन्तोष राईले जानकारी दिए । उनका अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयबाट कार्यान्वयन हुने एकवर्षे र बहुवर्षे योजना गरी यो वर्ष खोटाङमा एक अर्ब दुई करोड ५८ लाख २८ हजार बजेट आएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट