logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • दक्षिण कोरियामा रहेका विदेशी नागरिकको राहदानीको अवधि नभए भिसा नथपिने

    दक्षिण कोरियामा रहेका विदेशी नागरिकको राहदानीको अवधि नभए भिसा नथपिने

    6.6K
    Shares

    सउल । दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ । यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो । सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ ।

    न्याय मन्त्रालयको पत्रानुसार नेपाली राजदूतावासले पनि एक सूचना जारी गर्दै यहाँ रहेका नेपालीहरूलाई उक्त कुरा जानकारी गराएको छ । विशेषगरी इपिएस माध्यमद्वारा इ नाइन भिसामा आउने नेपाली श्रमिकको शुरुमा तीन वर्षको सम्झौता हुन्छ भने बाँकी एक वर्ष १० महिना प्रवेशाज्ञा थपिने हुन्छ तर अबको नयाँ नियमानुसार राहदानीको अवधि नभएमा प्रवेशाज्ञा नथपिने भएको हो । 

     यो नियम आगामी जुलाई १ तारिखदेखि लागु हुँदैछ । कोरियामा एफ फाइभ, एफ टु फोर, जी वान सिक्स भिसाबाहेक अन्य भिसावाहक विदेशी नागरिकको भिसा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने छ । विविध कारण तत्काल राहदानी नवीकरण गर्ने अवस्था नभएमा कारण हेरेर आगामी डिसेम्बरसम्म मात्र भिसा थप हुन सक्ने पनि बताइएको छ ।

     सन् २०२० मा मात्र १६ हजार १३० विदेशी नागरिकको राहदानीको अवधि सकिएको तर उनीहरूले राहदानी नवीकरण नगरेको सूचना सार्वजनिक भएको छ । यो नियम लागु भएपछि दक्षिण कोरियामा रहेका विदेशीहरुलाई उचित व्यवस्थापन गर्न सहज हुने न्याय मन्त्रालयको विश्वास छ । विदेशीले आफ्नो राहदानी नवीकरण भइसकेपछि १५ दिनभित्र नजिकैको अध्यागमनमा दर्ता गरेमा कुनै जरिवाना नलाग्नेसमेत बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend