म्यान्मार । म्यान्मारमा शुक्रबार सुरक्षाकर्मीहरुद्वारा कम्तीमा ८० प्रदर्शनकारी मारिएका छन् । देशको मध्यभागमा पर्ने बागोमा भएको घटनामा परी उनीहरुको हत्या भएको अनुगमनमा खटिएका अधिकारकर्मीहरुले जनाइएको छ ।
मृतकहरूको शव सेनाले लिएर गएकाले मृतकको सङ्ख्या अझ बढी हुन सक्ने उनीहरुले बताएका छन् । सुरक्षाकर्मीले ठूला हतियार प्रयोग गरेको र केही हलचल हुनेबित्तिकै प्रदर्शनकारी माथि गोली प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताएका छन्।
म्यान्मारमा गत माघ १९ मा देशको शासनसत्ता आफ्नो हातमा लिएपछि सेनाको कारबाहीमा ६०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । सेनाको यस कदमको विश्वभरीबाट विरोध भइरहेको छ भने शान्तिपूर्ण लोकतान्त्रिक राजनीतिक निकासका लागि दबाब बढिरहेको छ ।