२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर, १९ वटै वडामा जडान गर्ने तयारी

मंगलवार , श्रावण २७, २०८२

कंचनपुर । कंचनपुरको भीमदत्त नगरपालिकाले नगरका मुख्य सडकमा सौर्यबत्ती जडान गरेपछि भीमदत्तनगर झिलिमिली भएको छ । पालिकाले सौर्यबत्ती जडान गरेपछि पूर्व–पश्चिम राजमार्ग र महेन्द्रनगर बजार झिलिमिली बनेको हो ।

नगर प्रवक्ता पदमराज अवस्थीले उज्यालो भीमदत्त बनाउने अभियानअनुसार पालिकाले पूर्व–पश्चिम राजमार्गमा एक सय १५ वटा सडक बत्ती जडान गरेको जानकारी दिए । “पहिलो चरणमा पूर्वपश्चिम राजमार्गको भासीबाट महेन्द्रनगर बजारसम्म एक सय १५ वटा सौर्यबत्ती जडान गरिएका छन्”, उनले भने, “दोस्रो चरणमा राजमार्गको गड्डाचौकीसम्म जडान गर्नेछौँ ।”

प्रवक्ता अवस्थीले भीमदत्तलाई उज्यालो नगर बनाउने लक्ष्यअनुसार पालिकाले १९ वटै वडामा सडक सौर्यबत्ती जडान गर्ने तयारी गरेको बताए । उक्त सौर्यबत्ती जडानका लागि ६९ लाख ७४ हजारमा ठेक्का सम्झौता भएको थियो ।

पालिकाले दोस्रो चरणमा २२ लाख ८२ हजार ४२० मा ठेक्का सम्झौता गरेको छ । जसअन्तर्गत गड्डाचौकीबाट भुजेलासम्म ३० वटा सडक बत्ती जडान भइसकेका नगरपालिकाले जनाएको छ । नागरिकको सहजताका लागि राजमार्गको दुवैतर्फ सडकमा सौर्यबत्ती जडान गरिएको उनले बताए ।

एसियाली विकास बैङ्कको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत महेन्द्रनगर बजारलाई आधुनिकीकरण गरिएका हो । आयोजनाको पहिलो चरणअन्तर्गत रु एक अर्ब लगानीमा आधुनिक सडक निर्माणसँगै नगर क्षेत्रमा ‘हाइमास्टलाइट’ जडान गरिएको नगरका सब–इन्जिनियर पवन लेखकले जानकारी दिए ।

“नगरका मुख्य सडकमा ७७६ वटा लाइट जडान भएका छन्”, उनले भन्नुभयो, “बजारमा मात्रै आठ वटा हाइमास्टलाइट जडान गरिएका छन् ।” उनले बजार सौन्दर्यीकरणका लागि गल्लीमा रहेका बिजुलीका खम्बा र टेलिफोनका तार गल्लीको पछाडि भागमा व्यवस्थित गर्न लागिएको बताए ।

राजमार्गसहित नगरका क्षेत्रमा बत्ती जडान भएपछि बिहानको समयमा क्याम्पस जाने विद्यार्थीलाई सहज भएको स्थानीय बताउँछन् । “सडकमा अँध्यारो हुँदा आवतजावत समस्या हुन्थ्यो, बत्ती जडान भएपछि सहज भएको छ”, स्थानीय गणेश भट्टले भने, “एक पटक जडान भएको बत्ती बिग्रेपछि बनाउन पालिकाले ध्यान दिनुपर्छ ।”

उनले सडक बत्तीले यहाँका नागरिकलाई रातिको समयमा आवागमनमा सहज भएको उल्लेख गरे । राजमार्ग क्षेत्रमा सडक बत्तीले झिलिमिली भएपछि विद्यार्थी र सवारीसाधनलाई यात्रा गर्न सहज हुनुका साथै दुर्घटनाको जोखिम कम भएको स्थानीय बताउँछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट