उद्योगीहरूका अनुसार निर्यात रोकिएसँगै ठूलो परिमाणमा तयारी चिया गोदाममै थन्किएको छ । यसका कारण किसानलाई हरियो चियापत्तीको भुक्तानी गर्न समेत कठिनाइ उत्पन्न भएको छ ।
विराटनगर / भारतले नेपाली चियामा लागू गरेको गैरभन्सार अवरोधका कारण निर्यात ठप्प भएपछि नेपालका गम्भीर संकटमा परेका छन् । निकासी अवरुद्ध भएपछि इलामस्थित ५३ वटा अर्थोडक्स चिया उद्योगले सोमबारदेखि उत्पादन बन्द गरेका छन् भने सिटिसी चिया उद्योगहरूले पनि असार ४ गतेदेखि उत्पादन रोक्ने घोषणा गरेका छन् ।
भारतीय चिया बोर्डले मे १ देखि नेपाली चियालाई शतप्रतिशत गुणस्तर परीक्षणको दायरामा राखेपछि पछिल्लो ४५ दिनदेखि भारततर्फको निर्यात प्रभावित भएको उद्योगीहरूको भनाइ छ । निर्यात प्रक्रिया जटिल र लामो बनेपछि उद्योगहरूले उत्पादन बन्द गर्न बाध्य भएको बताएका छन् ।
सूर्योदय नगरपालिकामा रहेका ५३ अर्थोडक्स चिया उद्योगले दैनिक करिब ४० हजार किलो चिया उत्पादन गर्दै आएका थिए । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालका अध्यक्ष डिल्लीराम श्रेष्ठका अनुसार उद्योग बन्द हुँदा किसान, मजदुर र उद्योगमा आबद्ध गरी करिब ५० हजार जनाको रोजगारी जोखिममा परेको छ ।
नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले अर्थोडक्स उद्योगपछि सिटिसी चिया उद्योगहरू पनि असार ४ गतेदेखि बन्द हुने जानकारी दिएका छन् । उनका अनुसार नेपालमा उत्पादित अर्थोडक्स र सिटिसी दुवै प्रकारका चियाको प्रमुख बजार भारत भएकाले निर्यात अवरोधले सम्पूर्ण क्षेत्र प्रभावित बनेको छ ।
उद्योगीहरूका अनुसार निर्यात रोकिएसँगै ठूलो परिमाणमा तयारी चिया गोदाममै थन्किएको छ । यसका कारण किसानलाई हरियो चियापत्तीको भुक्तानी गर्न समेत कठिनाइ उत्पन्न भएको छ । एसोसिएसनले जारी गरेको विज्ञप्तिमा भारतीय चिया बोर्डले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिडिअर (एसओपी)’ ले नेपाली चियाको निर्यात प्रक्रियालाई थप जटिल बनाएको उल्लेख गरिएको छ ।
गत साता परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणबाट पनि चिया निर्यात समस्याको समाधान ननिस्किएपछि उद्योगीहरू निराश बनेका छन् । यद्यपि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतीय दूतावासका प्रतिनिधिसँग यस विषयमा छलफल भएको जनाएको छ ।
मेची भेली चिया उद्योगका सञ्चालक मनोज श्रेष्ठका अनुसार गुणस्तर परीक्षणका नाममा नमूना संकलन गरी लामो समयसम्म प्रतिवेदन नदिने, परीक्षण पूरा नभएसम्म चिया गोदामबाट बाहिर लैजान नदिने तथा गुणस्तरमा समस्या देखिए भारतीय भूमिमै नष्ट गर्नुपर्ने व्यवस्था गरिएकाले व्यवसायीहरू समस्यामा परेका छन् ।
उनका अनुसार नेपाली चियालाई ८२ वटा परीक्षण प्रक्रिया पार गर्नुपर्ने अवस्था सिर्जना गरिएको छ । कहिले सीमाक्षेत्रमै परीक्षण गर्ने, कहिले गोदामबाट नमूना संकलन गर्ने तथा प्रतिवेदन आउन एक महिनासम्म लाग्ने जस्ता प्रक्रियागत झन्झटका कारण उद्योगीहरू उत्पादन बन्द गर्ने निष्कर्षमा पुगेका हुन् ।
उद्योगीहरूको तथ्यांकअनुसार भारतस्थित गोदामहरूमा करिब ३ लाख किलो तयारी चिया रोकिएको छ भने नेपालभित्रका उद्योगहरूमा १० लाख किलोभन्दा बढी चिया थन्किएको छ । यसले उत्पादन चक्रमा प्रत्यक्ष असर पार्नुका साथै किसान, मजदुर र उद्योगी सबैलाई आर्थिक दबाबमा पारेको छ ।
अध्यक्ष पराजुलीले सरकारबाट प्रभावकारी कूटनीतिक पहल नभएको आरोप लगाउँदै बजार अभावकै कारण उत्पादन रोक्नुपरेको बताए । उनले यो आन्दोलन नभई बिक्रीको वातावरण नहुँदा उद्योग बन्द गर्नुपरेको अवस्था भएको स्पष्ट पारे । उद्योगीहरूले समयमै समस्या समाधान नभए चिया क्षेत्र थप गम्भीर संकटमा फस्ने चेतावनी दिएका छन् ।
नेपालमा चिया खेती र उद्योगमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा एक लाखभन्दा बढी श्रमिक र करिब ३० हजार किसान परिवार निर्भर रहेका छन् । इलाम र झापामा मात्रै वार्षिक करिब २ करोड ६५ लाख किलो चिया उत्पादन हुने गरेको छ, जसको अधिकांश हिस्सा भारतीय बजारमा निर्यात हुने गर्दछ ।
समस्या समाधान नभए उद्योगीहरूले चरणबद्ध आन्दोलनका कार्यक्रम अघि बढाउने तयारी गरेका छन् । सीमा नाकामा विरोध प्रदर्शन गर्ने तथा भारतीय वस्तुको प्रवेशमा अवरोध सिर्जना गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिने जनाइएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालु आर्थिक वर्षको वैशाखसम्म नेपालले ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको ११ हजार ४०० टन चिया निर्यात गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने ४ अर्ब ५९ करोड रुपैयाँ मूल्य बराबरको १५ हजार ६०० टन चिया निर्यात भएको थियो ।
चिया निकासी अवरोध हटाउन उद्योग वाणिज्य महासंघ को माग
नेपाली चिया निर्यातमा भारतीय पक्षबाट सिर्जना गरिएको गैरभन्सार अवरोधप्रति नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले गम्भीर चिन्ता व्यक्त गरेको छ । महासंघले नेपाल सरकारलाई तत्काल उच्चस्तरीय कूटनीतिक पहलमार्फत चिया निकासी सहज बनाउन आग्रह गरेको छ ।
भारतीय पक्षले लागू गरेको नयाँ व्यवस्थाका कारण ठूलो परिमाणमा तयारी चिया सीमाक्षेत्रमा रोकिएको र उद्योगहरूमा मौज्दात बढ्दै गएको विज्ञप्तिमा उल्लेख छ । यसबाट उद्योगहरूको नगद प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको तथा हजारौँ किसान, श्रमिक र उद्यमी प्रभावित बनेका छन् ।
महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालमा करिब १० हजार हेक्टर क्षेत्रफलमा चिया खेती हुने गरेको छ, जहाँबाट वार्षिक २ करोड ७४ लाख किलोग्राम चिया उत्पादन हुन्छ । उत्पादित चियामध्ये वार्षिक करिब २ करोड ५६ लाख किलोग्राम चिया भारत निर्यात हुने गरेको छ। यस उद्योगमा २० हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् ।
निर्यात अवरोधका कारण चिया उद्योगहरू विगत तीन दिनदेखि अनिश्चितकालका लागि बन्द हुन बाध्य भएको महासंघले जनाएको छ । यसले चिया किसान तथा श्रमिकहरूको रोजगारीमा प्रत्यक्ष असर पु¥याउनुका साथै समग्र क्षेत्रीय अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको बताइएको छ ।
महासंघले समस्या समाधानका लागि नेपाल सरकारले अविलम्ब प्रभावकारी कूटनीतिक पहल गर्नुपर्ने आवश्यकता औंल्याएको छ । साथै नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रसँग पनि आवश्यक पहलका लागि अनुरोध गरिएको जनाएको छ । महासंघले नेपाली चिया उद्योग, किसान तथा श्रमिकहरूको हित संरक्षणका लागि आफू सदैव प्रतिबद्ध रहेको समेत स्पष्ट पारेको छ ।
प्रतिक्रिया दिनुहोस