logo

२०८० चैत्र १५ बिहिबार

logo
  • बिहिबार, १५ चैत्र २०८०
  • Advertisment

    Sunaulo Nepal

    पहिलाेपटक अमेरिका जाँदा…

    पहिलाेपटक अमेरिका जाँदा…

    4.6K
    Shares

    सर्वप्रथम मैले अमेरिका जाने टिकट किन्न कसले पैसा दियो भनेर धेरैले त्यो पैसा दिने दाताको नाम भन्न पनि अनुरोध गर्नु भएको रहेछ । नाम भन्न त मिल्दैन तर कसरी पैसा दिए भन्ने कुरा भन्छु । मैले चिनेको एकजना मान्छे त्यति बेलाको शाही नेपाली सेनामा हुनुहुन्थ्यो । उहाँ शान्ति सेनामा लेबनानमा काम गरेर भर्खरै फर्कनु भएको रहेछ । उहाँलाई मेरो समस्या बताएँ । उहाँले “पैसा त छैन, मैले एउटा भिडियो हेर्ने डेक ल्याएको छु त्यसैलाई बेचेर पैसा बनाउ” भन्नुभयो ।

    त्यति बेला डेकमा भिडियो क्यासेट हालेर टिभी स्क्रिनमा भिडियो हेर्ने चलन खुब चलेको थियो र त्यो निकै महँगो पनि थियो   मैले त्यो डेक काठमाडाैंकाे न्युरोडको एउटा पसलमा लगेर १९ हजार ५ सयमा बेचें । त्यो पैसाले टिकट किन्न  पुग्ने भयो र म ढुक्क भएँ किन भने त्यति बेलाको सटही दर २४ रुपैयाँको १ डलर थियो । त्यसपछि उति बेला धनकुटाको पाख्रिबास कृषि केन्द्रमा काम गर्ने एक जना साथीले पनि काठमाडौं आएको बेलामा ८ हजार रुपैयाँ दियो । त्यो साथीलाई मैले चितवनमा स्कुल पढाउँदा चिनेको थिएँ । यसरी पैसाको समस्या समाधान भयो । अनि त्यो रुपैयाँलाई डलरमा साट्दा कतिको झन्झट भयो भन्ने कुरा अस्ति नै भनि सकेको छु । शाही नेपाली सेनाको मलाई डेक दिने ब्याक्ति उहिले नै पेन्सन निस्कनु भयो । पाख्रिबास कृषि केन्द्रमा काम गर्ने साथी अहिले अमेरिकामा नै छ र वैज्ञानिक नै भएको छ । 
     
    काठमाडाैंबाट अमेरिकाका ​

    म कहिल्यै पनि हवाईजहाज न चढेको हुनाले एयरपोर्टमा पुगेपछि के–के गर्नु पर्छ भन्ने कुरा केही पनि थाहा थिएन ।  टिकट काटेर बसमा चढे जस्तै टिकट देखाएर जहाजमा चढ्ने होला भनि ठानेको थिएँ । अनि विदेशका एयरपोर्टहरु कति ठूला हुन्छन् भन्ने कुराको अड्कल मेरो दिमागमा नै थिएन । जहाज चढ्न यसो गर्नु पर्छ भन्ने कुरा सिकाउने कोहि पनि थिएन । अनि अर्को समस्या के थियो भने मैले गोराहरूले अंग्रेजी बोलेको अलि अलि मात्र बुझ्दथें र मलाई अंग्रेजी बोल्न आउँदैनथ्यो भने पनि हुन्छ । केही कुरा अंग्रेजीमा बोल्नु पर्यो भने सोच्दै अकमकाएर भन्नु पर्थ्यो। नेपालमा गाउँको स्कूलमा पढेको र त्यस पछि १३ बर्ष सम्म गाउँको स्कूलमा नै पढाउँदा गोराहरु संग भेट्ने र अंग्रेजी बोल्ने अवसर नै मिलेन। अमेरिका पुगेर जबर्जस्ति अंग्रेजी बोल्नु पर्ने भएको थियो ।

    जे होस् धेरै दिनको दौडधुप गरेर पैसा खोजेर र डलरमा साटेर थाइ एयरकाे बैंकक जाने हवाई जहाजमा चढेपछि बल्ल मुटुको ढुकढुकी कम भयो । अनि बैंककमा जहाजबाट बेलुकी ६ बजे उत्रेपछि के गर्ने भन्ने कुरा थाहा नै थिएन । अरु यात्रुहरुको पछि पछि गएँ र मेरो झोला लिएँ । अमेरिका जाने फ्लाइट भोलि पल्ट ११ बजे मात्र थियो । त्यसैले यतै कतै बस्ने ठाउँ होला कि भनेर खोज्न थालेँ । कहीँ पनि बस्ने ठाउँ देखिन । अनि एयरपोर्टमा काम गर्ने  एक जनालाई होटेल छ कि भनेर सोधेँ । उसले एयरपोर्ट भित्र–भित्र मलाई लगेर एउटा होटेलमा राखिदियो । कति पैसा भनेर सोध्ने आँट पनि आएन । त्यो एयरपोर्ट होटेल रहेछ र त्यहाँ गएर नरम बेडमा आनन्दले सुतियो । भोलिपल्ट बिहान पैसा तिर्न बेलामा १२५ डलर लाग्यो भनेर भन्यो । अनि मेरो त सातो पुत्लो नै उड्यो किन भने बल्ल बल्ल जोडेको त्यति धेरै पैसा एकै रातमा गयो ।

    होटेल बाट गएर बल्ल तल्ल बोर्डिंग पास लिएर बैंकक बाट अमेरिका जाने जहाज चढियो । जहाज अमेरिकाको पश्चिमी किनारको सियाटलमा ओर्लियो । म पनि अरु यात्रुहरुसँग इमिग्रेसन तिर लागेँ । इमिग्रेसनबाट बाहिर आएर झोला लिने ठाउँमा गएर झोला लिएँ । त्यस पछि अरु मान्छेहरु जता–जता जान्छन् म पनि त्यतै त्यतै लागेँ । यसो गर्दा म त्यत्रो ठूलो एयरपोर्टमा हराएँ र सियाटल बाट डेनभर जाने टर्मिनल नै पत्ता लगाउन सकिन । पसिना काड्दै यता उता दौड धुप गरेर बल्ल तल्ल जहाजको काउन्टरमा पुगेँ । त्यहाँ पुगे पछि मैले टिकट देखाएँ ।  अनि त्यहाँ भएको एउटी महिलाले “तिम्रो  फ्लाइट त आधा घण्टा अगाडी नै उडिसक्यो” भनेर भनिन् । अनि त कान पनि तातो भयो । मैले अंग्रेजीमा नै ‘ह्वाट टु डु’ भनेँ । उनले मेरो टिकट लिएर एकछिनपछि बोर्डिंग पास दिइन्  र अर्को फ्लाइटको गेटसम्म नै पुर्‍याइ दिइन् । मलाई पक्कै पनि पैसा माग्छन जस्तो लागेको थियो तर मागेनन् । त्यसैले ढुक्क भयो । अनि डेनभरको लागि उडियो । 

    सियाटलबाट त्यही बेलुकी ८ बजे तिर कोलोराडोको डेनभर एयरपोर्टमा जहाज उत्रियो । जहाजबाट झरेर नेब्रास्का जाने अर्को जहाजमा चढ्नु पर्ने  थियो। जहाज बाट ओर्ले पछि अरुसँगै म झोला लिने ठाउँ मा गएर झोला कुरेर बसेँ । सबैजनाले आ-आफ्नो लगेज लिएर गइसक्दा पनि मेरो झोला आएन । निकै बेर कुर्दा पनि झोला आएन । अनि म त्यो जहाजको काउन्टर खोज्दै खोज्दै त्यहाँ पुगेँ  र मेरो झोला आएन भनेँ । त्यो काउन्टरमा बसेको मान्छेले मेरो टिकट हेरेर भन्यो – “जहाज गइ सक्यो र तेरो झोला पनि नेब्रास्का गइ सक्यो । ४५ मिनट भयो गएको। ” 

    अनि त म रुन मात्र सकिनँ । बोल्न पनि आएन । खास भएको के रहेछ भने सियाटलमा मैले चेक इन गरेको लगेज सोझै अन्तिम गन्तब्यस्थल सम्म जान्छ र त्यहीं गएर झोला लिनु पर्छ भन्ने कुरा मलाई थाहा थिएन । यस्तो कुरा कसैले मलाई भनेको थिएन । त्यो कुरा थाहा नभएर मैले डेनभर एयरपोर्टमा झोला पर्खिंदा पर्खिंदै जहाज छुटेको रहेछ । 

    अनि त्यो डेनभर एयरपोर्टको काउन्टरमा  भएको मान्छेलाई ह्वाट टु डु भनेर भनेँ । त्यो काउन्टरमा बसेको मान्छेले मेरो टिकट लिएर भित्र गयो र एक छिन पछि फर्क्यो । मलाई एउटा सानो कागजको टुक्रा दियो र ‘उ त्यो गेट बाट बाहिर एउटा निलो गाडी आउँछ, त्यसैमा चढेर जानु र भोली बिहान ९ बजे यहिँ आउनु र जहाज चढ्नु’ भनेर भन्यो । त्यो कागजको टुक्रा मुठीमा समातेर म गेटको बाहिर पुगेँ ।  तीन मिनट जतिमा गाडी आयो र म यसैमा चढेँ । गाडीले मलाई लगेर होटेलको काउन्टरमा पुर्‍याइदियाे । होटेलको काउन्टरमा मैले त्यही कागजको टुक्रा दिएँ । त्यो कागजमा के लेखेको छ भनेर मैले हेर्दै हेरिनँ । 

    होटेलले एउटा कोठामा लगेर मलाई राख्यो । बैंककको होटेलमा १२५ डलर तिरेर तर्सेको हुनाले मेरो कान फेरि तातियो । “यहाँ पनि पैसा तिर्नु पर्ने भयो” भनेर रात भरि निन्द्रा नै लागेन । भोलिपल्ट बिहान होटेलको काउन्टरमा गएर साँचो बुझाएर पैसा कति लाग्छ भनेर सोधेँ ।  उसले पैसा लाग्दैन, एयरलाइन्सले तिर्छ भन्यो । अनि बल्ल राहतको सास फेरियो । एयरपोर्ट पुगेर नेब्रास्का जाने जहाजको बोर्डिंग पास लिन गएँ । मेरै गल्तीले जहाज छुटाएको भएता पनि त्यहाँ पैसा मागेन । अनि जहाज चढेर नेब्रास्का पुगियो ।

    उति बेलाको अमेरिकामा जस्तो आजभोलि त्यहाँ छैन । आजभोलि त कसैले हवाईजहाज छुटायो भने अर्को टिकट किन्नु पर्ने हुन्छ र बाटो हराएको मान्छे भनेर सीतिमिति दया गर्दैनन् । अनि  होटेल पनि फ्रीमा उपलब्ध गराउँन्नन् । 

    नेब्रास्का एयरपोर्टमा पुगेर अघिल्लो दिन पुगेको झोला लिइयो । त्यहाँको काउन्टरमा बसेकी महिलालाई त्यहाँको युनिभर्सिटीमा पढ्न आएको कुरा भनेँ । अनि ‘हाउ टु गाे टु युनिभर्सिटी’ भनेर सोधेँ । उनले कलेजमा फोन गरिन् र एकजना मान्छे लिन आउँछ भनिन् ।  केही समयमा एक जना मान्छे आएर मलाई युनिभर्सिटीमा पुर्‍यायाे । सोझै एड्मिसन अफिसमा लग्यो ।  एक घण्टा भित्रमा के–के हो कागजपत्र भरेर छात्राबासको कोठामा लग्यो र कोठा खोलेर मलाई त्यहाँ राख्यो । त्यसपछि तुरुन्तै त्यही खाटमा पल्टेर १२ घण्टा सम्म सुतियो ।  जिन्दगीमा आनन्दसँग मस्तले सुतेको दिनहरु मध्य त्यो पनि एउटा सम्झनु पर्ने दिन थियो । लौ काठमाडौंदेखि नेब्रास्का अमेरिकासम्मको यात्रा कहानी यत्ति नै हो ।

    – महाविर पुनकाे फेसबुकबाट ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend