तस्बिर: रोयटर्स
एजेन्सी । कोरोना भाइरसको दोस्रो लहरका कारण अति प्रभावित भएको भारतलाई अमेरिकासहित कैयन् देशहरूले आपत्कालीन मेडिकल सहयोगको गर्ने भएका छन् ।
अमेरिकाले भारतमा आस्ट्राजेनेका खोप निर्माणका निम्ति खट्किएका कच्चा पदार्थमा लगाइएको निर्यात प्रतिबन्ध हटाएको बीबीसीमा उल्लेख छ । त्यस्नै यूकेले भेन्टिलेटर तथा अक्सिजन कन्सन्ट्रेटर उपकरणहरू पठाउन थालेको छ। युरोपेली युनियनका सदस्य राष्ट्रहरूले पनि सहयोग पठाउँदैछन्।
पाकिस्तानको विदेश मन्त्रालयले आइतबार एक वक्तव्य जारी गरी पाकिस्तान भारतीय नागरिकलाई सहयोगका लागि तयार रहेको जानकारी दिएको छ । ‘महामारीको यो सङ्कटका बेला हामी भारतका नागरिकको साथमा छौँ । पाकिस्तान सहयोग स्वरुप भारतलाई भेन्टिलेटर, बाइपेप मेसिन, डिजिटल एक्स–रे मेसिन, पिपिई किट र अत्यावश्यक स्वास्थ्य सामग्री दिन चाहन्छ ।’ बक्तव्यमा उल्लेख छ ।
यसबीच छिमेकी बाङ्लादेशले सङ्क्रमण फैलनबाट रोक्न सोमबारदेखि भारतसँगको सिमाना बन्द गर्ने बताएको छ।
यसैबीच फ्रान्सले भारतमा अक्सिजन आपूर्ति गर्ने बताएको छ। साथै युरोपेली युनियनले पनि अक्सिजन तथा औषधि पठाउने बताएको छ।
भारतमा स्वास्थ्य अधिकारीहरूका अनुसार त्यहाँ यूके भेरिअन्ट एवं भारतमै अक्टोबरमा भेटिएको अर्को भेरिअन्टका कारण अहिले तेज सङ्क्रमण फैलिरहेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीले यो सङ्क्रमणलाई आँधी सरह आएको भनेका छन्।