काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र विश्वनै कोरोना महामारीले आक्रान्त भएको बेला प्रधानमन्त्रीको कदमले संविधानलाई पनि कोरोना लागेको जस्तो, आईसियूमा राखेको जस्तो भान भएको बताएका छन् ।
विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै उनले कम्युनिष्ट आन्दोलनमा संकट, एकतामा संकट, देश कोरोना महामारीले आक्रान्त भइरहेको समयमा प्रधानमन्त्रीको कदमले नेपालको संविधान नै कोरोना लागेको जस्तो भान भएको बताए ।
प्रधानमन्त्री अोलीले आफूलाई राष्ट्रिय समस्या रहेको बताउँदै आएकोप्रति प्रचण्डले भने, ‘पछिल्लो क्रियाकलाप हेर्दा म राष्ट्रिय समस्या कि तपाई हो ? आउनुहोस् बहस गरौँ ।’ उनले भने,‘ मैले कुन कार्यक्रमलाई कहाँनेर व्यवधान गरेँ, जवाफ दिन सक्नुहुन्छ ? बरु यसको निम्ती तपाई नै जिम्मेवार हो ।’ त्यस्तै प्रचण्डले विकाश र समृद्धिको हाम्रो सपनालाई डे वान देखि नै तुहाउने तर्फ प्रधानमन्त्री लागेको आरोप समेत लगाए ।
त्यस्तै दोस्रो लहरको कोरोना महामारी फैलिनुमा पनि ओलीको हात रहेको प्रचण्डले बताए । उनले भने,‘ कोरोनाको दोस्रो लहर आउने संकेत पाउँदा पाउँदै पनि ठूला–ठूला रथ यात्रा, जुलुस लिएर हिँड्ने तपाई नै होइन ? तपाई आफैँ अनुशासनमा नबस्ने अनि अरुलाई कसरी भन्न सक्नुहुन्छ ? दोस्रो लहर सुरु हुन लागेको बेला हजारौँ मानिस जम्मा गरेर किन कार्यक्रम गर्नुपथ्र्यो ? अलि पछि गरेपनि हुने थिएन ?’
त्यस्तै प्रचण्डले आफू जस्तो लचिलो, उदार र भावुक मान्छेका सहयोगमा दुई पटक प्रधानमन्त्री बनेको स्मरण गराए । उनले भने, ‘म मनमा जे छ त्यो मुखमा आउँछ, अनुहारमा त्यहि देखिन्छ, तर तपाई मनमा एउटा अनुहारमा अर्को देखाउन सक्ने क्षमताको मान्छे हुनुहुँदो रहेछ ।’