काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जुन संसदप्रति विश्वास नभएर विघटन गर्नुभयो, त्यहि संसदमा विश्वासको मत माग्ने भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै यादवले भने, ‘सहमति र समझदारी कार्यान्वयन गर्न धोका दिनु भो, अनि कसरी विश्वास गर्ने ? जुन सदनलाई असंवैधानिक तरीकाले विघटन गर्नुभो, जुन सदनमाथि आफैँलाई विश्वास छैन, त्यहि सदनले कसरी विश्वासको मत दिने ?’
त्यस्तै मन्तव्यको सुरुवातमै यादवले सरकारको ध्यान कोरोना महामारीको नियन्त्रणमा नगएको आरोप लगाए । महामारी नियन्त्रण गर्नुमा भन्दा प्रधानमन्त्रीको ध्यान अयोध्या र रथयात्रा तिर गएको आरोप लगाए ।
आफ्नो पार्टीसँग सम्झौता गरेपनि कार्यन्वयन गर्ने समयमा प्रधानमन्त्रीले विश्वासघात गरेको यादवले गुनासो पोखे । मुलुकमा राष्ट्रिय समस्याको रुपमा रहेको दलित, आदिवासी, मधेसी, महिलाहरुको समस्यालाई तीन वर्षमा समाधान गर्ने प्रयास समेत नगरेको यादवले बताए । त्यस्तै प्रधानमन्त्रीले संघीयतालाई संस्थागत गर्नुको सट्टा यसलाई उखेलेर फाल्ने चेष्टा गरेको यादवले आरोप लगाए ।
आफूहरु विश्वासको मतको विरुद्धमा मतदान गर्ने र विकल्प खोज्नेतर्फ अघि बढिसकेको कुरा यादवले अवगत गराए ।