काठमाडौं । नेपाली कांग्रेसका नेता गगन कुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दारितापूर्वक नेपालीको ज्यान जोगाउन लाग्ने हो भने आफूजस्ता कयौंले साथ दिने बताएका छन् ।
फेसबुक मार्फत भिडियो सन्देशमा बोल्दै नेता थापाले भनेका छन्,‘तपाईं इमान्दारितापूर्वक यो महामारीसँग जुधिरहेका नेपाली जनताको जीवन जोगाउन लाग्ने हो भने म र मजस्ता कयौंलाई नदीको अर्को किनारामा होइन तपाईंसँगै उभिएको पाउनु हुनेछ,’ ।
प्रधानमन्त्री ओलीले पुनः एक पटक मौका पाएको बताउँदै यो मौकालाई खेर नफाल्न पनि अनुरोध गरेका छन् । ‘तपाईले एक पटक पुनः मौका पाउनुभएको छ । यो मौकालाई खेल नफालौँ । यो पटक अलि फरक ढंगले काम गरौँ । तपाई र हामी मिलेर जीवनबाट आशा गुमाइसकेकाहरुलाई आशा दिने प्रयत्न गरौँ । अक्सिजन नपाएर छटपटाइरहेकाहरुलाई सास दिने प्रयत्न गरौँ र आर्यघाट पुग्ने शवलाई घटाउने काम गरौं।’ उनले भनेका छन् ।
प्रधानमन्त्रीले सबै ध्यान र समय कोरोना महामारीविरूद्ध लगाएमा सरकारलाई सफल बनाउन सबैले सहयोग गर्ने पनि उनले बताएका हुन् ।