२०८३, जेठ २७ गते

बुधवार, जेठ २७ गते २०८३

‘पार्टीमा गुट होइन, अब इमानदार नेतृत्व चाहिन्छ’ : डा. शर्मा

सोमवार , आश्विन २०, २०८२

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता तथा पूर्वसांसद डा. सुनिल शर्मा‍ले पार्टी नेतृत्वप्रति गहिरो प्रश्न उठाउँदै अबको दिशा स्पष्ट पार्न सबै नेताहरूलाई आव्हान गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक विचार व्यक्त गर्दै उनले ‘वरमेको गुणी पुत्रो न त मूर्खशतो पि वा’ भन्ने उक्ति उद्धृत गर्दै, सयौँ स्वार्थी र दिशाहीन नेताको भिडभन्दा एकजना इमानदार, दूरदर्शी र राष्ट्रप्रेमी नेतृत्वको आवश्यकता औँल्याएका छन्।

त्यस्तै, डा. शर्माले एक अनलाइनमा प्रकाशित सुदर्शन आचार्यको लेखमा उठाइएका प्रश्नहरूमाथि समर्थन जनाउँदै ती विषयहरू केवल लेखकीय चिन्ता नभई आम कांग्रेस कार्यकर्ताको ‘अन्तरदाह’ भएको बताएका छन्। उनले लेखमा उल्लेख गरिएझैं, पार्टीभित्रको बेथिति, गुटबन्दी, भ्रष्ट्राचार र नेतृत्वको अकर्मण्यताले लोकतान्त्रिक शक्तिहरूलाई कमजोर बनाएको जिकिर गरेका छन्।

“गगन–विश्वजस्ता नेतामाथि प्रश्न उठ्नु भनेको केवल व्यक्तिविशेषको आलोचना होइन,” उनले लेखेका छन्, “यो त कांग्रेसभित्रको मौन पीडाको अभिव्यक्ति हो, जसले दललाई सिंगो राष्ट्रको दिशानिर्देशक बनाउने अवसर गुमाइरहेको छ।”

डा. शर्माले पार्टीका महामन्त्रीद्वय र समस्त पदाधिकारीहरूलाई स्पष्ट शब्दमा आग्रह गरेका छन्— “न आँखा चिम्लेर समर्थन गरौँ, न अन्धो विरोधमै रमाऔँ। विगत सम्झौं, वर्तमानको मूल्याङ्कन गरौं र भविष्यप्रति प्रतिबद्ध बनौं।”

उनले इमानदारी, विचार र जवाफदेहीतालाई आधार मानेर नेपाली कांग्रेसलाई पुनर्जीवित गर्न सकिने विश्वास व्यक्त गरेका छन्। पार्टीको आन्तरिक संरचना, विशेषगरी नेविसंघ र तरुण दलमा देखिएको ‘हुक्का र ठेक्काको राजनीति’प्रति कटाक्ष गर्दै उनले सवाल गरेका छन्— “यी संस्थामा महामन्त्रीहरूको हस्तक्षेप किन देखिँदैन?”

साथै, उनले पार्टीलाई ‘असल कार्यकर्ताको खानी’ बनाउने संकल्प गर्न नेतृत्वलाई खुला चुनौती दिएका छन्। “दस–बीस जना अघि–पछाडि लगाएर भाषण गरेर वा गुटकेन्द्रित राजनीति गरेर नेतृत्व जन्मिँदैन,” उनले लेखेका छन्, “अब खुलेर भन्नुस्— हामी देश निर्माणमा लाग्छौं।”

डा. शर्माले कांग्रेसले फेरि बी। पी। कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहजस्ता इमानदार र आदर्श नेताको बाटो समात्नुपर्ने आवश्यकता औंल्याएका छन्। “देशलाई अब ठूला भाषण होइन, सत्य, निष्ठा र प्रतिबद्धतामा अडिएका नेताको खाँचो छ,” उनको भनाइ छ।

डा. शर्मा प्रतिनिधि सभामा सांसद पदमा रहँदा तलब–भत्ता नलिने एक मात्र व्यक्ति हुन्। उनी सामाजिक तथा मानवीय जिम्मेवारी निर्वाहमा निरन्तर सक्रिय छन्—गम्भीर बिरामीलाई निःशुल्क उपचारको व्यवस्था, देशभर स्वास्थ्य शिविर, घाइतेहरूको उपचारमा सहयोग, एम्बुलेन्स हस्तान्तरण लगायतका कार्य उनका पहिचान बनेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट