काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन ‘मौन अवधि’ उल्लंघन गरी राष्ट्रिय सभा सदस्य रामबहादुर थापाका निम्ति मतदान गर्न आह्वान गरेका छन् । प्रधानमन्त्रीले विज्ञप्ति निकालेकाे केही बेरमा निर्वाचन आयोगले आचारसंहिता विपरीत केही व्यक्तिले विज्ञप्ति निकालेर मत मागेको भनी ध्यानाकर्षण भएको जनाएको छ ।
बागमती प्रदेश राष्ट्रिय सदस्य निर्वाचत निम्ति आयोगले जेठ ३ गते राति १२ बजेदेखि ‘मौन अवधि’ घोषणा गरेको थियो । तर प्रधानमन्त्री ओलीले ‘मौन अवधि’ जारी रहेकै बेलामा बुधबार ‘निर्वाचनमा पार्टीका उम्मेद्बार रामबहादुर थापालाई सूर्य चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी बनाउन आह्वान’ गरेका हुन् ।
‘निर्वाचन आचार संहिता विपरीतका कार्य गर्ने व्यक्ति वा संस्थालाई आयोगले कानून बमोजिम कारवाही गर्न सक्ने कुरा प्रष्ट गर्दै यसरी आचारसंहिता विपरीत कार्य गर्नेको अभिलेख राख्ने व्यहोरासमेत जानकारी गराइन्छ’ आयाेगले निकालेकाे विज्ञप्तिमा भनिएकाे छ ।
बिहीबार हुने चुनावका लागि कांग्रेस र माओवादी केन्द्रको समर्थनमा खिमलाल देवकोटा र एमाले उम्मेदवार रामबहादुर थापा बादलको उम्मेदवारी रहेकाे छ ।