धनगढी । कैलालीको घोडाघोडी नगरपालिका–८ मा गएराति एक युवकको घाँटी रेटेर हत्या गरिएको छ। हत्या आरोपमा सोही वडाका १८ वर्षीय बलबहादुर बिक र १९ वर्षीय गङ्गा बुढा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
मृतक २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटिएको अवस्थामा शव घटनास्थलमै फेला परेको प्रहरीले जनाएको छ। अभियुक्त दुईजनाले घाँटी रेटेर टाउको छुट्याएपछि आफैं टाउको बोकेर इलाका प्रहरी कार्यालय सुखड मातहतको प्रतिखेत प्रहरी चौकी पुगेका थिए।
इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सुर्खेतको चौकुने गाउँपालिका–३ घर भएका बुढाको हत्या राति करिब ११ बजेतिर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीका अनुसार मृतक र पक्राउ परेका दुईजना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका थिए। त्यही क्रममा विवाद भएपछि धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटिएको प्रारम्भिक निष्कर्ष प्रहरीले सार्वजनिक गरेको छ। हत्या आरोपित र मृतकबीच पहिले चिनजान नरहेको पनि प्रहरीले जनाएको छ।
घटनास्थलको मुचुल्का उठाइसकेपछि मृतकका आफन्त सुर्खेतबाट आइपुगेपछि मात्र शव उठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।
प्रतिक्रिया दिनुहोस