२०८३, जेठ ३० गते

शनिवार, जेठ ३० गते २०८३

बन्धक रिहाइ समारोहमा भाग लिन इजरायल जाँदै ट्रम्प, जीवित सूचीमा नेपालका बिपिन पनि

सोमवार , आश्विन २७, २०८२

काठमाडौं । गाजामा हमासले नियन्त्रणमा राखिरहेका बन्धकहरूको रिहाइ प्रक्रिया औपचारिक बनाउन आयोजित विशेष समारोहमा सहभागी हुन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन्।

हालै भएको युद्धविराम सम्झौताअनुसार सोमबार दिउँसो १२ बजेसम्म गाजाका सबै बन्धकहरूलाई मुक्त गर्ने लक्ष्य राखिएको छ। प्रस्थानअघि पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले युद्ध अन्त्य भएको दाबी गरे। उनले युद्धविराम स्थिर रहने र गाजाको पुनर्संरचनाका लागि ‘बोर्ड अफ पिस’ गठनको तयारी भइरहेको बताए। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र युद्धविराममा मध्यस्थता गरेको कतारको भूमिकाको प्रशंसा गरे।

सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको दक्षिणी क्षेत्रमा गरेको आक्रमणपछि युद्ध सुरु भएको थियो। त्यस आक्रमणमा १० नेपालीसहित करिब १ हजार २०० जनाको मृत्यु भएको थियो। कञ्चनपुरका विपिन जोशीसहित २५१ जना बन्धक बनाइएका थिए। गाजामा हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि हुने नयाँ सूची सार्वजनिक भएको छ। यसअघि उनको अवस्था अज्ञात रहेको अमेरिकी सञ्चारमाध्यम सीएनएनले जनाएको थियो।

इजरायली मिडिया टाइम्स अफ इजरायल, एपीसहित अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सार्वजनिक गरेको २२ जना जीवित बन्धकको सूचिमा बिपिन जोशीलाई पनि समावेश गरिएको छ। मृतक २६ बन्धकमध्ये एक सन् २०१४ मा मारिएका इजरायली सैनिकको शवसमेत सूचिमा रहेको उल्लेख गरिएको छ।

युद्धपछि इजरायलले तीव्र आक्रमण जारी राख्दा गाजामा ६७ हजारभन्दा बढी मानिस मारिएको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयको दाबी छ, जसमा १८ हजारभन्दा बढी बालबालिका छन्।

ट्रम्पको पहलमा गत शुक्रबारदेखि युद्धविराम लागू भएको थियो। २० बुँदे शान्ति योजनाअन्तर्गत पहिलो चरणमा हमासले जीवित रहेका करिब २० जना इजरायली बन्धक र २८ जना मृतकका शव फिर्ता गर्ने तयारी गरेको बताइएको छ। त्यसको प्रत्युत्तरमा इजरायलले करिब २५० प्यालेस्टिनी कैदी तथा १ हजार ७०० गाजावासीलाई रिहा गर्नेछ। इजरायलका अधिकारीका अनुसार जीवित बन्धकहरू सुरक्षापूर्वक भित्रिएपछि मात्रै कैदीहरू मुक्त गरिनेछन्। सहायता सामग्रीको आपूर्ति पनि बढाइने उल्लेख छ।

ट्रम्पले सोमबार इजरायलको संसदलाई सम्बोधन गर्ने कार्यक्रम छ। त्यसपछि उनी इजिप्टका राष्ट्रपति अब्देल फत्ताह अल–सिसीसँग शर्म अल–शेखमा हुने शिखर सम्मेलनमा सहभागी हुनेछन्, जहाँ ‘गाजा युद्ध अन्त्य गर्ने कागजात’मा हस्ताक्षर गर्ने योजना छ। उक्त सम्मेलनमा बेलायतका प्रधानमन्त्री सर कियर स्टार्मरसहित २० भन्दा बढी देशका शीर्ष अधिकारी सहभागी हुनेछन्।

युद्धविराम कत्तिको दिगो हुन्छ भन्ने प्रश्नमा ट्रम्पले आत्मविश्वास व्यक्त गर्दै “युद्धविराम कायम रहनेछ” भनेका छन्। उनका अनुसार गाजा पुनर्निर्माण र प्रशासनिक संरचनाका लागि चाँडै बोर्ड अफ पिस गठन हुनेछ।

शुक्रबार सम्झौता सार्वजनिक भएपछि शनिबार तेल अविवमा सयौं इजरायलीले भेला भई अमेरिकाप्रति कृतज्ञता व्यक्त गरेका थिए। तर गाजाको प्रशासनिक भविष्य, इजरायली सेना फिर्ता र हमासको निशस्त्रीकरणजस्ता विषयमा आगामी चरणका वार्ताहरू कठिन हुनसक्ने विश्लेषकहरूको आकलन छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट