२०८३, जेठ २९ गते

शुक्रवार, जेठ २९ गते २०८३

मधेस प्रदेशमा छठ पूजाको तयारी पूरा

आइतवार , कार्तिक ९, २०८२

जनकपुरधाम । मधेस प्रदेशमा आराध्यदेव सूर्यको पूजाआजा गरी निष्ठापूर्वक मनाइने छठ पर्वको तयारी पूरा भएको छ । तराई मधेशलगायत देशका विभिन्न भूभागमा सुख र समृद्धिको कामनासहित यो पर्व विशेष् रूपमा मनाइन्छ ।

विशेषगरी तराई मधेश क्षेत्रमा बस्ने हिन्दू धर्मावलम्बीले यसलाई महत्त्वका साथ मनाउने गर्दछन् । यो पर्व मधेस प्रदेशका आठवटै जिल्लामा अझ विशेष रूपमा मनाउने प्रचलन छ । यहाँ एक अर्कालाई सहयोग गर्दै नदी, नहर, तालतलैया, पोखरीलगायत जलाशय क्षेत्रमा छठको घाट निर्माण गरी यो पर्व मनाउने चलन छ ।

यस वर्षको छठको पूजाका लागि मधेस प्रदेशका धनुषा, महोत्तरी, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा तथा पर्सा जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका नदी, नहर, पोखरी, इनारलगायत जलाशयमा छठको घाट निमार्ण कार्य पूरा भएको छ । कोरोनाकालदेखि कतिपयले आफ्नो घरको छतमा जलाशय बनाएरसमेत छठपूजा गर्ने गर्छन् ।

गङ्गा सागर पोखरी छठ समितिका अध्यक्ष हरिनारायण गुप्ताले जनकपुरधामका छठका घाटहरू विगतको तुलनामा व्यवस्थित गरी सिङ्गारिएको बताए ।

हिन्दू धार्मिक मान्यताअनुसार यो पर्व वर्षमा दुईपटक अर्थात् कात्तिक र चैत महिनामा निष्ठापूर्वक मनाइने गरेको छ । पण्डित सूर्यकान्त झाका अनुसार कार्तिक शुक्ल चतुदर्शीका दिन सुरु हुने सूर्य उपासनाको यस पर्वलाई तराई तथा मिथिलाञ्चल क्षेत्रमा छठी महापर्व पनि भनिन्छ ।

छठ पर्व चार दिनसम्म मनाउने गरिएको छ । पूजाको प्रथम दिन व्रतालुहरू नुहाई धुवाई शुद्ध भई पूजन सामग्री तयारीमा लाग्ने गर्छन् । यसदिन व्रत बस्नेले चोखो अरवा चामलको भात, चना तथा रहरको दाल तथा लौका वा फर्सीको तरकारी खाने गर्छन् । दोस्रो दिन व्रतालुहरूले खरना मनाउने गर्छन् । जसमा व्रतालु निर्जल रही बेलुका माटोको चुलोमा खिर, रोटी तथा पुरी पकाएर भगवान्लाई चढाएर त्यही प्रसाद खाने तथा आफन्तजनलाई प्रसाद खुआउने गर्छन् ।

त्यसपछि ३६ घण्टा लामो निर्जल र निराहार व्रत सुरु हुन्छ । त्यस अवधिमा व्रतालुहरू पानीसमेत नखाई सूर्यपूजा तथा उपासनामा रहन्छन् । यसै क्रममा अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिन्छ ।

हाल छट पर्व मनाउन रोजगारी तथा काम विशेषले घरबाहिर रहेका युवायुवती, केटाकेटी, वृद्धवृद्धा तथा आफन्तहरू आ–आफ्ना घरमा पुगेर खुसी साटासाट र आवश्यक सहयोग गरिरहेका छन् । छठ पर्वका लागि आवश्यक पूजा सामग्री किनमेल, घरआँगन लिपपोत, सजावट, बाटोघाटो सरसफाइलगायत काम धमाधम भइरहेको छन् ।

यसैबीच यस वर्षको छठ पर्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले विशेष योजनाका साथ सुरक्षा प्रबन्ध मिलाएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक गोविन्द थपलियाले शान्ति सुरक्षाका लागि ‘अप्रेसन आस्था’ नामक विशेष सुरक्षा योजना कार्यावयनमा ल्याइएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट