काभ्रे / काभ्रेको नमोबुद्ध नगरपालिका–३ बुच्चाकोटस्थित वीपी राजमार्ग सडकखण्डमा शुक्रबार दिउँसो भएको बस दुर्घटनामा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।
दिउँसो करिब २ बजे भएको दुर्घटनामा मृत्यु हुनेहरूको हालसम्म सनाखत हुन सकेको छैन। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्राप्त जानकारी अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। बसमा चालकसहित २४ जना यात्रु सवार रहेका थिए।
दुर्घटनामा परेका यात्रुमध्ये सुरेशबहादुर माझीका अनुसार मोडमा विपरीत दिशाबाट आएको अर्को सवारीसाधनलाई जोगाउने क्रममा चालकले बस नियन्त्रण गुमाउँदा दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस