काठमाडौं। ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्र पसेर अपशब्द बोलेकोबारे कार्यक्रम उत्पादक तथा अभियानकर्मी अमन प्रताप अधिकारीले स्पष्टिकरण दिएका छन् ।
आन्दोलनका बेला देखाएको सहभागिता र उनले बोलेका शब्दका कारण विवादमा तानिएपछि उनले भिडियो सार्वजनिक गरेका हुन् ।
उनले संसद् भवन अगाडि गोली चल्दा आफ्नै आँखा अगाडि स्कुलको पोसाक लगाएका चार विद्यार्थी ढलेको र उनीहरूलाई गोली लागि सहिद भएको कुराले आफू आक्रोशित भएको बेला उक्त शब्द बोलिएको बताउँदै माफी मागेका छन् ।
भाद्र २४ गते ती विद्यार्थीहरूको झल्को मुटुमा बोकेर र आक्रोश लिएर फेरि संसद् भवन पुगेको अधिकारीको भनाइ छ । उनले आक्रोशको कारणबारे स्पष्ट पार्दै भनेका छन्, “त्यो आक्रोश किन थियो त ? जो सरकार थियो नि, त्यो सरकारले संसद् भवन भित्रबाट गोली प्रहार गरेको थियो । र तपाईँ, मेरा छोराछोरी त्यहीँ ढलेर त्यहीँ सहिद भएका थिए ।”
संसद् भवनभित्र प्रवेश गर्दा आफूमा पनि आक्रोश देखिएको र भित्र गएपछि मोबाइल निकालेर गोली प्रहारको आदेश दिने सरकार चलाइरहेका नेताहरूलाई ‘तेरो देश सकियो’ भनेर अपशब्द बोलेको उनले स्वीकार गरेका हुन् ।
उनले सो अपशब्द केपी ओली नेतृत्वको सरकार, संसद् तथा देउवाजी, प्रचण्डजी लगायत सम्पूर्ण संसद् विरुद्धको आक्रोश रहेको बताउँदै सर्वसाधारणप्रति इङ्गित नभएको स्पष्ट पारेका छन् । तर, उनले जो विरुद्ध अपशब्द बोलेका हुन्, त्यसमा आफूलाई पछुतो नभएको बताएका छन् ।
पूर्व फुटबल खेलाडी, कमेन्टेटर समेत रहेका अधिकारीले संसद् भवन, सिंहदरबार वा न्यायालयमा भएको आगलागीमा आफ्नो संलग्नता नरहेको बताउँदै त्यसको प्रमाण दिन चुनौती दिएका छन् । एउटा सानो सबुत भए पनि ल्याए आफू जेल जान तयार रहेको पनि उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस