काठमाडौं । जल तथा मौसम विज्ञान विभागले मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै देशभर वर्षा र हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
विभागले जारी गरेको बुलेटिन अनुसार पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको संयुक्त प्रभावका कारण आगामी दुई दिन मौसम प्रभावित हुनेछ ।
रातिदेखि बुधबार बिहानसम्म देशका विभिन्न भागमा मौसम बदली भई वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।
यस प्रणालीको प्रभाव विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा रहने छ । यस स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका साथै बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ । विशेषगरी, एक–दुई स्थानमा भने भारी हिमपातको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
विभागले सम्भावित वर्षा र हिमपातका कारण दैनिक जनजीवन, पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा समेत असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ ।
विभागले विशेष गरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा यात्रा गर्दा वा सो क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस