काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंसिर ४) पनि बस्दै छ। बैठक दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
गत असोज २८ गतेदेखि जारी बैठकमा पार्टीको १५औँ महाधिवेशन कहिले गर्ने भन्ने विषय प्रमुख विवादका रूपमा उभिएको छ। एक हप्तासम्म बैठक रोकेर अनौपचारिक सहमतिको प्रयास गर्दासमेत दुबै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि विवाद झनै जटिल बनेको छ।
गत बिहीबारसम्म केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले धारणा राख्ने क्रम सकिएको थियो। त्यसपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमति खोज्ने भन्दै बैठक स्थगित गर्दै क्रमशः शनिबार, सोमबार र अन्ततः आजका लागि सारिएका बैठकहरूमा पनि कुनै प्रगति हुन नसकेको हो।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार महाधिवेशनको मिति निर्धारणमा अझै सहमति बनेको छैन। “दुवै पक्ष आ–आफ्नो अडानमा छन्,” उनले बताए। उनका अनुसार महामन्त्रीहरूले निर्वाचनअघि नै महाधिवेशन गर्नुपर्ने अडान राखिरहेका छन्, जबकि अर्को पक्षले निर्वाचनपछि मात्र महाधिवेशन गर्नुपर्ने प्रस्ताव अघि बढाइरहेको छ।
कात्तिक १९ गते महामन्त्री गगन थापाले पुस १६–१९ गते महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए। त्यसैदिन सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७–३० गते महाधिवेशन गर्ने वैकल्पिक तालिका प्रस्तुत गरे। थापाको प्रस्तावलाई इतर समूहले र यादवको तालिकालाई संस्थापन पक्षले समर्थन गरेपछि विवाद झनै तीव्र बनेको छ।
प्रतिक्रिया दिनुहोस