काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई मधेशबारे गम्भीर समीक्षा गर्न आग्रह गरेका छन्।
भट्टराईले बाराको सिमरामा जेनजी युवासँग एमाले कार्यकर्ताको झडप, मधेश प्रदेश प्रमुखको बर्खास्तगी, सभामुख पदमुक्ति र मुख्यमन्त्री नियुक्तिविरुद्ध अदालतमा मुद्दा दर्ता जस्ता घटनालाई दृष्टिगत गर्दै यस्तो माग गरेका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “पार्टीको जनआधार विस्तार, आन्तरिक एकता सुदृढीकरण र सामाजिक छवि सुधारका लागि मधेशमा नयाँ जिम्मेवारीका साथ जानु आवश्यक छ। यस विषयमा गम्भीर विचार गर्न पार्टी अध्यक्षलाई निवेदन गर्दछु।”
भट्टराईका अनुसार, प्रदेशमा एमालेलाई ठूलो राजनीतिक धक्का लागेको छ र पार्टीको सार्वजनिक छविमा प्रश्न उठेको छ। उनले प्रदेश प्रमुखको बर्खास्ती, सभामुख पदमुक्ति र मुख्यमन्त्री पदमा अदालतको प्रक्रिया जस्ता घटनालाई पार्टीभित्रको अन्तरविरोधसँग जोडेर गम्भीर समीक्षा गर्नुपर्ने बताए।
“राजनीतिक रूपमा हामी एक्लिएका छौं। पार्टी अध्यक्षले मधेशमा गरेको मेहनतमाथि किन, कसले र केका लागि खेलवाड भयोरु यी सबै विषयमा गम्भीर समीक्षा हुनु आवश्यक छ,” उनले थपे।
प्रतिक्रिया दिनुहोस