
काठमाडौं । विश्वभर फैलिएका कोरोना भाइरसका एक दर्जन प्रजाति (भेरियन्ट) मध्ये नेपालमा एउटाको मात्र पहिचान गर्न सकिन्छ। अन्य भेरियन्ट पहिचानका लागि विदेशस्थित प्रयोगशालाकै भर पर्नुपर्ने बाध्यता छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा। रुणा झाका अनुसार, नेपालमा अल्फा भेरियन्ट (बी.१.१.७)को मात्र परीक्षण गर्न सकिन्छ। भेरियन्ट पत्ता लगाउन जीन सिक्वेन्सिङ गर्नुपर्ने हुन्छ। यसअघि कोरोना भाइरस संक्रमितको नमुनाको जीन सिक्वेन्सिङका लागि हङकङ र भारतस्थित प्रयोगशालामा पठाइएको थियो। हङकङमा पठाइएका १५ नमुनामध्ये एक जनामा डबल म्युटेन्ट (अल्फा)भाइरस फेला परेको थियो।
अल्फा नेपालमा पुष्टि भएको पहिलो भेरियन्ट हो। अन्य भेरियन्ट परीक्षणका लागि पूर्वाधार व्यवस्थापनलगायत अन्य काम भइरहेको डा। झाले जानकारी दिइन्। अल्फा सन् २०२० सेप्टेम्बरमा पहिलो पटक देखिएको थियो।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले भेरियन्ट अफ कन्सर्नभित्र परेका रवि भिन्न मुलुकमा फैलिएका भेरियन्टहरूलाई नयाँ नामकरण गरेको छ। तीमध्ये अल्फा, डेल्टा, गामा र कप्पा मुख्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार, पछिल्लो समय नेपालमा फैलिएको कोभिड–१९ भेरियन्टलाई डेल्टा (बी.१.६१७.२) नाम दिइएको छ। हाल नेपालमा भेटिएका भेरियन्ट अफ कन्सर्नमा डेल्टा र अल्फा छन्। तीमध्ये अल्फाको पहिचान गर्न सकिने प्रयोगशालाकी निर्देशक डा. झाले जानकारी दिइन्।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend