काठमाडौ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले र नेपाली कांग्रेसबाहेक अरु दलले सरकार बनाउनै नसक्ने बताएका छन् ।
मदन–आश्रित स्मृति प्रतिष्ठानद्वारा आयोजित ‘नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचारगेष्ठीमा प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा प्रधानमन्त्री पद जस-जसले सहमति गरेर बाँडे पनि एमाले–कांग्रेस बाहेक अरुले सरकार बनाउन नसक्ने बताएका हुन् ।
“कसैलाई प्रधानमन्त्री, कसैलाई पार्टी अध्यक्ष बाँड्नु हास्यास्पद छ । प्रधानमन्त्रीमा हल्ला चलेको व्यक्ति अलि बाठै होला भन्ने ठानेको तर निर्णय देख्दा हस्यास्पद लाग्यो ।’’, अध्यक्ष ओलीले भने, “पार्टी सभापति एउटालाई, उपसभापति अर्कालाई, पार्टी अर्कालाई जिम्मा लाएर आफू प्रधानमन्त्री भनिएको छ । यो भदौमा सिंहदरबार आगो लगाउने बेलामा प्रधानमन्त्री बाँडे जस्तै हो । जसलाई जहाँ भेट्यो, त्यहाँ प्रधानमन्त्री बाँडेर हुँदैन ।’’
उनले घैँटाको पानीले सागर बन्न नसक्ने र भेडा बाग्राहरुको मोर्चाबन्दीले सिंहलाई कुनै फरक नपर्ने टिप्पणी गर्दै एमाले र कांग्रेसजस्ता दलह ठुला र पुराना लोकतान्त्रिक शक्ति भएको जिकि गरे ।
उनले निर्वाचन हुन सक्ने वातावरण नभएकाले असंवैधानिकरुपमा विघटन भएको संसद पुनःस्थापना हुनुपर्ने बताए । सरकार बनाउने र हटाउने थलो संसद भएकोले यसलाई असंवैधनिक व्यक्तिले विघटन गरेर संविधानलाई संकटमा पारेको उनको भनाइ थियो । अध्यक्ष ओलीले संसद पुनः स्थापनाबारे सर्वोच्च अदालतले चाँडो न्याय दिनुपर्नेमा पनि जोड दिए ।
प्रतिक्रिया दिनुहोस