काठमाडौं । आम जनता पार्टी (आजपा)ले जेनजी, जेनजी शहिद परिवार, चर्चित मोडेल, मिडिया उद्यमी, समाजसेवीदेखि सहकारी एवं लघुवित्त पीडीतहरुलाई समानुपातिक तर्फको उम्मेदवार बनाएको छ ।
२१ फागुनमा हुने प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगमा आजपाले समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाएको छ ।
आजपाले बुझाएको समानुपातिक तर्फको बन्दसूचीमा चर्चित मोडेल तथा मिडिया उद्यमी एलिजा गौतम खस आर्यतर्फको महिला सूचीको पहिलो नम्बरमा रहेकी छन् ।
यसैगरी जेनजी शहिद परिवारबाट जेनजी शहिद श्रेयम चौलागाईका बुवा गणेश चौलागाई, जेनजी घाइते सञ्जिव सापकोटा, जेनजीहरुको तर्फबाट प्रतिमा थापामगर, मन्दिपकुमार लाल लगायतका दर्जनौ जेनजी युवाहरुलाई आजपाले समानुपातिक तर्फको उम्मेदवार बनाएको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।
सहकारी एवं लघुवित्त पीडीतलाई समेत आजपाले समानुपातिक उम्मेदवार बनाएको छ । लघुवित्त पीडीत संघर्ष समितिको तर्फबाट मनिराम ज्ञवाली, कृष्णबहादुर तामाङ, निमा शेर्पा, बिनु यादव, सहकारी पीडीत संघर्ष समितिको तर्फबाट देवकुमार श्रेष्ठ, रिता भट्टराई, लैंगिक अल्पसंख्यक समुदायकी लक्ष्मी घलान, दृष्टिविहीन अधिवक्ता रोशनी अधिकारीसहित रहेका छन् ।
यसैगरी, मुस्लिम तर्फबाट लालबाबु मंसुरी, आसमहम्द मियाँ, रहेना खातुन, अम्बिका देवान (फकिर), फरहत बाुन लगायत रहेका छन् ।
आम जनता पार्टी, जनादेश पार्टी, जेनजी आन्दोलनकारी सहित सहकारी पीडीत, लघुवित्त पीडीत संघर्ष समिति लगायतकाले आजपाको मोवाइल चुनाव चिन्हबाट २१ फागुनको निर्वाचनमा संयुक्तरुपमा सहभागी हुँदैछन् । बन्दसूचीमा आजपाले १ सय १० जनाकै नामावली बुझाएको हो ।
प्रतिक्रिया दिनुहोस