काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले पार्टीले निर्वाचन आयोगमा पेस गरेको समानुपातिक निर्वाचनतर्फको बन्दसूचीप्रति आपत्ति जनाएकी छन्।
समानुपातिक प्रणालीको मूल अवधारणाविपरीत सूची पेस गरिएको आरोप लगाउँदै उनले पार्टीभित्र आफन्तवाद र नातावाद अन्त्य हुनुपर्ने बताएकी छन्। समानुपातिक प्रणालीले निषेध होइन, समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ।
मध्यराति सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, “समानुपातिक प्रणाली भौगोलिक विकटता, पहुँच र शक्ति नपुगेका तर सक्षम व्यक्तिहरूलाई प्रतिनिधित्व गराउनका लागि ल्याइएको हो। सूचीले विपन्न, कर्णाली, सुदूरपश्चिम र गाउँको आवाज बोल्नुपर्थ्यो। तर पार्टी नेतृत्वका आफन्त र पार्टीको महत्त्वपूर्ण पदमा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीका आकांक्षी बन्नु र त्यहीँ आफ्नो स्थान सुरक्षित गर्नुले समानुपातिक प्रणालीको औचित्यमाथि प्रश्न उठाएको छ। समानुपातिकले समावेश गराउनुपर्छ, निषेध होइन।”
उनले पार्टीका पदाधिकारीहरूलाई समानुपातिक सूचीमा राखिएकोप्रति पनि असन्तुष्टि व्यक्त गरेकी छन्। पार्टीले गरेको प्राइमरी भोटिङको समेत अवमूल्यन गरिएको उनको आरोप छ।
“पार्टीको भाइटल पोजिसनमा बस्ने साथीहरूले प्रत्यक्ष निर्वाचन लड्ने हिम्मत गर्नुपर्छ। अहिले त पार्टी झन् ठूलो भइसकेको छ, त्यसो गर्दा डराउनु पर्ने के छ ?” भन्दै उनले पदाधिकारी तथा सचिवालय सदस्यहरूले आफ्नो नाम समानुपातिक सूचीबाट हटाएर प्रत्यक्ष चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने माग गरेकी छन्।
रास्वपाले समानुपातिक बन्दसूचीका लागि प्राइमरी भोटिङ गरे पनि अग्रपंक्तिमा रहेका केही व्यक्तिहरू सूचीमा नपरेको बताइएको छ। सूचीमा केही सेलिब्रेटी, पार्टी पदाधिकारी तथा सचिवालय सदस्यहरू समेटिएको विषयलाई लिएर पार्टीभित्र असन्तुष्टि देखिएको छ।
प्रतिक्रिया दिनुहोस