काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी फुटाउने वा छोड्ने योजना नभएको स्पष्ट पारेका छन्। उनले शुक्रबार भएको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा राखेको धारणा सामाजिक सञ्जालमार्फत साझा गर्दै भनेका छन्, “न हामी कांग्रेस छाड्छौँ, न फुटाउँछौँ, बरु कांग्रेसको नेतृत्व गर्नेछौँ।”
विशेष महाधिवेशनको विषयमा शर्मा भन्छन् विधानको धारा १७(२) बमोजिम माग गरिएको विशेष महाधिवेशनलाई सहमतिपूर्वक बोलाएर समाधान गर्नुपर्छ। विकल्पका रूपमा २६ गते उद्घाटन, दिउँसो बन्द सत्र र साँझ उम्मेदवारी दर्ता, र २७ गते भोटिङ मेसिनमार्फत निर्वाचन गर्ने व्यवस्था गर्न सकिन्छ। असहमतिको स्थिति आएमा महामन्त्रीहरूले संयमपूर्वक टुंगो लगाउने तयारीमा छन्।
नियमित महाधिवेशनको नयाँ कार्यतालिकामा असहमति आवश्यक नभएको तर मूल प्रश्न विशेष महाधिवेशनको प्रस्ताव रहेको शर्मा बताउँछन्। उनले ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षरलाई अनादर गर्न नहुने पनि स्पष्ट पारे।
समानुपातिक सूचीको विवादको विषयमा उनले सूचीमा अचानक आएको परिवर्तनलाई गम्भीर गल्ती भने र अग्रज नेताहरूलाई अवसर दिन आवश्यक भएको बताएका छन्।
एमालेसँगको सम्भावित गठबन्धनबारे पनि शर्मा असहमति प्रकट गर्दै भने, “महासमितिको निर्णय विपरीत गठबन्धन गर्नु आत्मघाती हुनेछ।”
शर्माले कांग्रेस फुट्ने डर नभएको र पार्टीको सिंगो नेतृत्व उनीहरूकै जिम्मेवारी हुने दाबी गरे।
प्रतिक्रिया दिनुहोस