२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

रौतहट–१ बाट एमालेको उम्मेदवारमा अजय कुमार गुप्ताको नाम एकल सिफारिस

शनिवार , पौष १९, २०८२

रौतहट । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले) रौतहट क्षेत्र नम्बर १ बाट पार्टीका केन्द्रीय सदस्य अजय कुमार गुप्ताको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरिएको छ। रौतहट–१ को क्षेत्रीय भेलाले गुप्तालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउन केन्द्रमा सिफारिस गर्ने निर्णय गरेको हो।

क्षेत्रीय भेलामा सहभागी नेता तथा कार्यकर्ताहरूले गुप्ताको लामो राजनीतिक अनुभव, संगठन निर्माणमा पुर्‍याएको योगदान, जनतासँगको नजिकको सम्बन्ध र क्षेत्रभित्र रहेको बलियो जनसमर्थनलाई आधार मानेर उम्मेदवारी सिफारिस गरिएको बताएका छन्। भेलामा गुप्ता नै रौतहट–१ मा एमालेको जित सुनिश्चित गर्न सक्ने सक्षम र भरोसायोग्य उम्मेदवार भएको निष्कर्ष निकालिएको थियो।

अजय कुमार गुप्ता हालै सम्पन्न नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा मधेशी खुला (पुरुष) तर्फ केन्द्रीय सदस्यमा निर्वाचित भएका नेता हुन्। कुल २,२२७ मतमध्ये उनले १,८१४ मत प्राप्त गर्दै मधेश प्रदेशबाट सबैभन्दा धेरै मत ल्याउने उम्मेदवारका रूपमा आफ्नो बलियो हैसियत प्रमाणित गरेका थिए। उनको यो परिणामलाई पार्टीभित्र मधेशी समुदायको नेतृत्वमा देखिएको सशक्त उदयका रूपमा लिइएको छ।

गौर, रौतहटका स्थायी बासिन्दा गुप्ता पार्टीभित्र साहसी, स्पष्ट वक्ता र ऊर्जाशील युवा नेताका रूपमा परिचित छन्। उनले वि.सं. २०७४ मा गौर नगरपालिकाको मेयरको रूपमा निर्वाचित भई स्थानीय तहमा प्रभावकारी र जनमुखी नेतृत्व प्रदान गरेका थिए। मेयरका रूपमा उनले शहरी विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा उल्लेखनीय काम गरेको समर्थकहरूको दाबी छ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा गुप्ताले रौतहट क्षेत्र नम्बर १ बाट एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रतिस्पर्धा गरेका थिए। उक्त निर्वाचनमा उनी थोरै मतान्तरले पराजित भए पनि त्यसपछि पनि निरन्तर संगठन सुदृढीकरण र जनसम्पर्कमा सक्रिय रहँदै आएका थिए। अहिलेको एकल सिफारिसलाई उनको निरन्तर संघर्ष र बढ्दो जनविश्वासको परिणामका रूपमा हेरिएको छ।

एमालेभित्र गुप्ताको उम्मेदवारी सिफारिसलाई युवा नेतृत्वप्रतिको भरोसा, मधेशी समुदायको प्रतिनिधित्वलाई थप बलियो बनाउने कदम र रौतहट–१ मा पार्टीलाई निर्णायक जिततर्फ लैजाने रणनीतिका रूपमा मूल्यांकन गरिएको छ। क्षेत्रीय नेताहरूले यस सिफारिसले आगामी निर्वाचनमा एमालेको अवस्था थप मजबुत हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट