२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

संस्कृति संरक्षणमा थारू समुदायका युवा पुस्ताको अग्रसरता

मंगलवार , पौष २९, २०८२

दाङ । पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ पुस्ताको आकर्षण बढ्दै गएको छ । जिल्लामा हुने विभिन्न सांस्कृतिक कार्यक्रमहरुसँगै मेला, महोत्सवहरुमा थारू जातिको मौलिक संस्कृतिका रुपमा रहेका नृत्यहरुमा नयाँ पुस्ताको अग्रसरता बढ्दै गएको हो । घोराही उपमहानगरपालिका–७ का जानकी चौधरी संस्कृति संरक्षणमा जुटेका छन् । माघ सांस्कृतिक कार्यक्रममा उनी आफ्नै मौलिक पोसाकमा भेटिइन् । उनले पुराना पुस्ताले जगेर्ना गर्दै आएको रीतिरिवाज, परम्परालाई जोगाइराख्न नयाँ पुस्ताको पनि दायित्व भएको बताउछिन् ।

आफ्नो मौलिक पहिचानका रुपमा रहेका थारू भेषभूषा, गरगहनामा सजिएर विभिन्न कार्यक्रममा सहभागी हुनेदेखि नाच्ने गरेको उनी बताउछिन् । उनले थारूको पहिचानका रुपमा रहेका बड्का नाच, छोक्रा नाच, सख्या नाचहरु नाच्न पनि सिकेकी छन् । “सुरुमा नाच्न मन लागे पनि लाजका कारण डर लाग्थ्यो । जसले गर्दा सार्वजनिक कार्यक्रममा सहभागी हुने र नाच्न मन लाग्दैन थियो”, उनले भनिन्, “तर अहिले सहज जस्तो लाग्छ । आफ्नो जातिगत वेशभूषा र परिहनमा सजिएर नृत्य देखाउँदा खुसी लाग्छ ।”

नृत्यसँगै उनलाई थारू जातिका महिलाहरुले परापूर्वकालदेखि चाडपर्वमा लगाउने गरेको लहङ्गा, घुर्या, हातमा कर्या, घाँटीमा लगाउने सुत्यालगायतका पहिरनमा सजिन मन लाग्ने गरेको उनी बताउछिन् । आफ्नो कला र संस्कृतिप्रतिको रहरले आफू गाउँदेखि सहरसम्म हुने विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै आएको बताइन् ।

उनी जस्तै विद्यालयसँगै जिल्लामा हुने विभिन्न कार्यक्रम तथा सभा सम्मेलनहरुमा थारू जातिसँग सम्बन्धित नाचहरुको माग हुन थालेपछि समूह बनाएर सहभागी हुने गरेको घोराही उमहानगरपालिका–१४ का आशा चौधरीे बताउछिन् । उनी पछिल्लो समय फुर्सदको समयमा थारू नृत्यहरु सिक्नेदेखि कार्यक्रमहरुमा सहभागी हुने गर्छिन् । “आफूले जानेका नृत्य नाच्ने र नजानेका नाच सिक्दै कार्यक्रममा सहभागी हुने गरेको छु”, उनले भनिन्, “जसले गर्दा आफ्नो कला संस्कृतिका बारेमा थप ज्ञानसँगै आर्थिक रुपमा केही आम्दानीसमेत हुने गरेको छ ।” जसले गर्दा आफूलाई हौसल्ला बढाउने काम गरिरहेको उनको भनाइ छ ।

थारू बस्ती बाक्लो भएको गाउँहरुबाट पछिल्लो समय थारू समुदायका युवायुवतीहरु आफ्नो वेशभूषामा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी हुने क्रम बढ्दै गएको छ । जिल्लामा हुने धेरैजसो कार्यक्रमहरुमा आफ्नो वेशभूषा र पहिरनमा सजिएर नाचगान गर्नेदेखि पाहुनाको स्वागतमा खटिने गर्छन् । पछिल्लो समय यो क्रम झनै बढेको थारू अगुवाहरुको भनाइ छ ।

घोराही उपमहानगरपालिका–७ पर्साका विकास चौधरीले आधुनिकतासँगै बाह्य संस्कृतिका कारण ओझेलमा परेको थारू संस्कृतिको विकासमा युवा पुस्ताको अग्रसरताले वेशभूषा तथा संस्कृति संरक्षणमा सहयोग पुर्याउने उनी बताउछन् । “थारू समुदायको मौलिक संस्कृतिका रुपमा रहेको मघौटा, बड्का, झुम्रालगायतका नाचहरुमा नयाँ पुस्ता आउँदा खुसी लागेको छ”, चौधरीले भने, “नयाँ पुस्ताको अग्रसरताले ओझेलमा परेको थारू संस्कृति संरक्षणमा सघाउ पुर्याउनेदेखि नयाँ पुस्ताको आकर्षणमा सहयोग पुग्नेछ ।”

थारू जातिमा सखिया गीत गाउने, माघीमा मघौटा नाच नाच्ने चलन छ । त्यस्तै जहिले सुकै नाचिने छोक्रा नाच, हातमा रङ्गीविरङ्गी टालो बाँधेर नाचिने झुम्रा नाच, बड्का नाच पनि नाच्ने गरिन्छ । चौधरीले थारू कला, संस्कृतिका बारेमा नयाँ पुस्तालाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षणको व्यवस्था हुनुपर्ने बताउछन् । थारू समुदायका विभिन्न बाजा संरक्षणका लागि प्रदेश सरकार, स्थानीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उनको भनाइ छ । बाबुबाजेले जोगाउँदै आएको थारू जातिको कला, संस्कृति संरक्षण र संवद्र्धनमा राज्यको सहयोग पनि आवश्यक रहेको चौधरी बताउछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट