
काठमाडौं । अस्वस्थ जीवनशैलीले मिर्गौला रोग लाग्ने भएकाले स्वस्थ जीवनचर्या बिताउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र हामी साथ छौँ अभियानले बिहीबार बेलुकी जुम प्रविधिबाट आयोजना गरेको प्रवचन कार्यक्रममा राष्ट्रिय मृगौला रोग केन्द्रका प्रमुख प्रा डा ऋषिकुमार काफ्लेले ९० प्रतिशत मानिस मिर्गौला बिग्रिएपछि मात्र अस्पताल पुग्ने गरेको बताए ।
केन्द्रमा हाल दैनिक २५० मिर्गौला रोगीको डाइलासिस हुने गरेको छ । यसैगरी ५० जनाको मिर्गौला परीक्षण हुन्छ । अमेरिकाको ‘स्ट्याण्डर्ड’ खानाले धेरै मानिस बिरामी हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले खानामा साग सब्जीसहितको स्वस्थ चीजबीज उपभोग गर्नुपर्ने बताए ।
नेपालमा हाल तीन लाख मानिस मिर्गौला बिगारेर हिँड्ने गरको र तीन हजारको मिर्गौला फेल भएको केन्द्रले जनाएको छ । मिर्गौला रोगबाट बच्न शरीरमा पानीको व्यवस्थापन, उच्च रक्तचाप र मधुमेहलाई नियन्त्रण गर्नुपर्नेमा डा काफ्लेले जोड दिए ।
‘मिर्गौला बिग्रिरहेका बेला कुनै लक्षण हुँदैन, अन्तिममा मात्र थाहा हुन्छ, मर्गौलामा समस्या भएपछि मुटु स्ट्रोकका कारण मानिस मर्छन्, दैनिक दुईदेखि तीन लिटर पिसाब आउने गरी पानी पिउनुस्, दिनमा १० हजार पाइला हिँड्नुस्, रातमा सात, आठ घण्टा सुत्नुस्, चुरोट, खैनी, जाँड, रक्सीले मिर्गौला बिगार्ने भएकाले यस्ता चीजबाट टाढा रहनुस्, मोटोपना, रक्तचाप भए घटाउने, मधुमेह ठीक राख्ने गरेमा मिर्गौला रोगबाट बच्न सकिन्छ’, उनले भने ।
स्वस्थ खाने, समयमा खाने, पेन किलर नखाने गर्नाले पनि मिर्गौला रोगबाट बच्न सकिन्छ । पिसाबबाट प्रोटिन गएको छ भने मिर्गौलामा समस्या छ भन्ने प्रमाणित हुने भएकाले सजग हुन आह्वान गरिएको छ । मिर्गौला बचाऔँ अभियानलाई रु एक दान गर्न डा काफ्लेले आह्वान गरे । हाल काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा मिर्गौला जाँच हुने गरेको छ । पन्ध्र हजारको जाँच गर्दा ७०० लाई मिर्गौला रोग भेटिएको केन्द्रको अभिलेख छ ।
शरीरको टक्सिन निकाल्न गुर्जो उपयोगी
कार्यक्रममा निःशुल्क गुर्जोका बिरुवा र धुलो एवं चिया वितरण गर्दै आउनुभएका अभियानकर्मी कमलबहादुर राजलवटले गुर्जोको नियमित सेवनले रोग प्रतिरोधी क्षमता बढाउने बताए ।
गुर्जोले शरीरका टक्सिनलाई बाहिर निकाल्छ । गुर्जोको चिया र धुलो सेवन गर्नाले पाइल्स, आँखा, छालाको समस्या समाधान हुने गरेको छ । गुर्जो वात, पित्त, कफ त्रिदोष नाशक छ । प्राचीन कालदेखि नै औषधिका रूपमा उपयोग गरिँदै आएको गुर्जोले पाचनतन्त्र बलियो बनाउँछ । गुर्जोले बच्चा र वृद्धलाई जवान बनाउने एवं जवानलाई पहलमान बनाउने अभियानकर्मी राजलवट बताउँछन् ।
पाँच वर्षमुनिका बालबालिका र गर्भवती महिलाले भने गुर्जोका परिकार सेवन गर्नुहुँदैन । गुर्जोको बिरुवा रोपेको एक वर्षपछि परिपक्व बन्छ । एक वर्षमा गुर्जोको बिरुवामा सबै गुण आउँछ । विसं २०७६ चैतमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएदेखि यसबाट बनेको औषधि र बिरुवा निःशुल्क वितरण गर्दै आएका अभियानकर्मी राजलवटले त्यो अभियानलाई यस वर्ष पनि निरन्तरता दिएका छन् । गत वर्ष एक लाख ४० हजार गुर्जोका बिरुवा रोपणका लागि निःशुल्क वितरण गरिएको उनले बताए ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend