युरोकप फुटबलमा आइतबार दुई खेल हुँदैछ।
आइतबार पहिलो खेलमा नेदरल्यान्ड र चेक रिपब्लिक राति पौने १० बजे खेल्नेछन् । यो खेल हंगेरीको पुस्कास एरिनामा हुनेछ । यो खेलको विजेताले क्वाटरफाइनलमा डेनमार्कसँग प्रतिस्पर्धा गर्नेछ ।
नेदरल्यान्ड समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो । उसले पहिलो खेलमा युक्रेनलाई ३-२ ले, दोस्रो खेलमा अष्ट्रियालाई २-० ले तथा समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले हराएको थियो ।
चेक रिपब्लिक भने समूह ‘डी’ बाट नकआउट चरणमा प्रवेश गरेको हो । उसले समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको थियो भने दोस्रो खेलमा क्रोएसियासँग १-१ को बराबरी तथा अन्तिम खेलमा इंग्ल्यान्डसँग १-० ले पराजित भएको थियो ।
यस्तै आइतबार बेल्जियम र पोर्चुगलबीच दोस्रो खेल हुनेछ । खेल स्पेनको सेभियामा राति पौने १ बजे हुनेछ । यो खेलको विजेताले क्वाटरफाइनलमा इटालीसँग खेल्नेछ ।
बेल्जियम समूह ‘बी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । बेल्जियमले समूह चरणको पहिलो खेलमा रुसलाई ३-० ले, दोस्रो खेलमा डेनमार्कलाई २-१ ले तथा समूह चरणको अन्तिम खेलमा फिनल्याण्डलाई २-० ले हराएको थियो ।
पोर्चुगल भने समूह ‘एफ’ बाट नकआउट चरणमा पुगेको हो । समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० ले हराएको पोर्चुगल दोस्रो खेलमा जर्मनीसँग ४-२ पराजित भयो । समूह चरणको अन्तिम खेलमा भने फ्रान्ससँग २-२ गोलको बराबरी खेल्दै पोर्चुगल नकआउट चरणमा प्रवेश गरेको हो ।