काठमाडौं । महाशिवरात्रिको अवसरमा चन्द्रागिरीस्थित भालेश्वर महादेव मन्दिरमा विशेष भजन उत्सव आयोजना हुने भएको छ । चन्द्रागिरि हिल्सले धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ दिनभर विविध आध्यात्मिक कार्यक्रम तय गरेको हो ।
उत्सवको मुख्य आकर्षणका रूपमा पोखराको चर्चित युवा भजन समूह रहनेछ। दिउँसो २ बजेदेखि ५ बजेसम्म उत्तम बराल र जुपिटर पौडेलसहितको टोलीले विशेष भजन प्रस्तुति दिने कार्यक्रम छ । भजन टोलीले सामूहिक गायन र संगीतका माध्यमबाट भक्तजनहरूलाई आध्यात्मिक र अलौकिक आनन्द प्रदान गर्ने आयोजकले जनाएको छ ।
महाशिवरात्रि एवं महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधाका लागि चन्द्रागिरि हिल्सले विशेष सहुलियतको घोषणा गरेको छ । साँझ ४ः३० बजेपछि केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेछ। भक्तजनहरूको चापलाई मध्यनजर गर्दै केबलकार सेवा राति ८ बजेसम्म सञ्चालन गरिने जानकारी दिइएको छ ।
भालेश्वर महादेवको धार्मिक र ऐतिहासिक महिमालाई थप उजागर गर्न यस वर्षको शिवरात्रिलाई विशेष बनाइएको चन्द्रागिरि हिल्सले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस