ललितपुर । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति करिब ९ बजे सडकबाट अन्दाजी ५ सय मिटर तल खसेर दुर्घटनामा परेको हो ।
दुर्घटनामा ट्रक चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र ट्रकमा सवार सोही स्थानका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकमा सवार अन्य दुई जना अन्दाजी ४० र ५० वर्षका पुरुषको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको छ । अस्पताल पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । मृतक दुई जनाको सनाखत हुन बाँकी रहेको जनाइएको छ ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस