२०८३, जेठ २५ गते

सोमवार, जेठ २५ गते २०८३

नेपालको निर्वाचनमा बंगलादेशको शुभेच्छाः सहकार्य गर्न प्रधानमन्त्री रहमान सहमत

बुधवार , फाल्गुण ६, २०८२

काठमाडौं । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् ।

ढाकास्थित नेपाली राजदूतावासका अनुसार प्रधानमन्त्री रहमानले परराष्ट्रमन्त्री बालानन्द शर्मासँगको भेटमा नेपालमा हुने संसदीय निर्वाचनको सफलताको शुभकामना व्यक्त गरेका हुन् ।

त्यस अवसरमा मन्त्री शर्माले बंगलादेशको प्रधानमन्त्री निर्वाचित भएकामा रहमानप्रति हार्दिक बधाई ज्ञापन गर्दै प्रधानमन्त्री सुशीला कार्कीको बधाई सन्देश हस्तान्तरण गरेका थिए। सन्देशमा प्रधानमन्त्री कार्कीले दुवै देश र जनताका साझा हितका लागि आपसी सम्मान, साझेदारी र प्रतिबद्धताका साथ मिलेर काम गर्ने इच्छा व्यक्त गरेकी छन् ।

दूतावासका अनुसार मन्त्री शर्माले निर्वाचन सफलतापूर्वक सञ्चालन गरी लोकतान्त्रिक प्रक्रियामा सहज सङ्क्रमण सुनिश्चित गरेकोमा बंगलादेश सरकारको सराहना गरे। साथै नेता रहमान नेतृत्वको बंगलादेश नेशनलिस्ट पार्टीले बहुमत हासिल गरेकोमा बधाई पनि दिएका थिए ।

प्रधानमन्त्री रहमानले शपथग्रहण समारोहमा सहभागी भएकोमा मन्त्री शर्मालाई धन्यवाद दिँदै यसले नेपाल सरकार र जनताका तर्फबाट बंगलादेश सरकार र जनताप्रति देखाइएको सद्भाव र एकताको प्रतीक भएको बताएका छन् ।

दुबैले नेपाल–बंगलादेशबीचको दिगो साझेदारी अझ सुदृढ बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । साथै व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल, शिक्षा र पर्यटन क्षेत्र लगायतमा सहकार्य बढाउने विषयमा छलफल गरेका थिए ।

मन्त्री शर्माले शपथग्रहण समारोहमा बंगलादेशको नवनिर्वाचित मन्त्री परिषद्का सदस्यहरूसँग पनि भेटघाट गरेका थिए । यसैगरी उनले शफिकुर रहमानसँग भेटवार्ता गरी द्विपक्षीय सहकार्यका मुख्य क्षेत्रबारे विचारविमर्श गरेका थिए ।

परराष्ट्रमन्त्री शर्मा बिहीबार स्वदेश फर्कने कार्यक्रमका साथ गत सोमबार ढाका प्रस्थान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट