काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गरोस् भनी कामना व्यक्त गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस, २०८२ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रका लागि भएका विभिन्न आन्दोलनमा योगदान पुर्याउने सबैप्रति सम्मान प्रकट गरेका छन् ।
शुभकामना सन्देशमा उनले प्रजातन्त्र स्थापनाका लागि भएका संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आन्दोलनलाई मार्गदर्शन गर्ने अग्रजहरूप्रति सम्मान व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले संविधान, लोकतन्त्र र जनताले चाहेको सुशासन तथा तीव्र विकासको बाटो सुनिश्चित गर्न यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफल पार्नु सबैको साझा दायित्व भएको उल्लेख गर्दै त्यसमा सक्रिय योगदान गर्न सबैलाई अपिल गरेका छन् ।
विसं २००७ को क्रान्ति सफल भई निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण संघर्षबाट मानवअधिकार र नागरिक स्वतन्त्रता प्राप्त भएको ऐतिहासिक उपलब्धिको स्मरणस्वरूप प्रत्येक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइने उल्लेख गर्दै उनले यस दिनलाई नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय दिनका रूपमा व्याख्या गरेका छन् ।
लामो संघर्ष र बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र र जनताले आफैँ निर्माण गरेको वर्तमान संविधानको एउटा महत्वपूर्ण आधार विसं २००७ को क्रान्ति रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले प्रजातन्त्र दिवसले नागरिक अधिकारको महत्त्व स्थायी बनाउन र सहिदहरूको अमर गाथा स्मरण गराइरहने बताएका छन् ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताले सात दशकभन्दा लामो संघर्षबाट प्राप्त गरेको महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै लोकतन्त्रले सामाजिक न्याय, समानता, सद्भाव र समृद्धिसहित राष्ट्रिय एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन् ।
साथै, सुशासनमार्फत विकास र समृद्धि हासिल गर्नु नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मुख्य उद्देश्य भएकाले सो लक्ष्य प्राप्तिका लागि सबैलाई सक्रिय हुन उनले आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस