२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

पर्सामा एक महिनामा आमाको नामबाट ३३ नागरिकता जारी

बिहिवार , चैत्र ५, २०८२

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालयले फागुन ५गतेदेखि आजसम्म आमाको नामबाट ३३ नागरिकता जारी गरेको छ ।

कार्यालयले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ मन्त्रिपरिषद्बाट स्वीकृत भएर राजपत्रमा प्रकाशन भएसँगै बुबाको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन, २०६३ को प्रावधान कार्यान्वयनमा आएसँगै वितरण गर्न थालिएको हो ।

कार्यालयले नागरिकता ऐन र नागरिकता नियमावली, २०८२ को मापदण्ड पुगेका नागरिकताविहीन नागरिकलाई नागरिकता प्रदान गरेको हो । कार्यालयले गत फागुन ५ गतेदेखि तोकिएको कागजात र मापदण्ड पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको हो ।

पर्साको वीरगञ्ज महानगर–११ का विजयकुमार साहले आमाको नामबाट नागरिकता पाएपछि आफूलाई धेरै सहज भएको बताए । “नागरिकता बनाउनका लागि धेरै वर्ष भाैतारिँदै हिँड्नुपर्यो,’’ उनले भने, “आमाको नामबाट नागरिकता पाएसँगै अब विभिन्न खालका प्रशासनिक झन्झटबाट मुक्त भएका छौँ ।”

वीरगञ्ज महानगर–१३ का जुबैर अन्सारी पनि लामो सङ्घर्षपछि नागरिकता प्राप्त गर्दा पनि ठूलै उपलब्धि हासिल गरेको अनुभव गरेको बताए । “नागरिकताविहीन हुनुको पीडा निकै सकस लाग्दो हुनेरैछ,” उनले भने, “आमाकै नामबाट नागरिकता पाएपछि अहिले निकै हर्षित भएको छु ।”

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन भएपछि आवश्यक मापदण्ड र कागजात पुगेका नागरिकलाई आमाको नामबाट नागरिकता दिन थालेको बताए ।

“नेपाल नागरिकता नियमावली, २०८२ ले तोकेको मापदण्ड पुगेका नागरिकलाई नागरिकता दिन थालेका छौँ,” उनले भने, “नागरिकताविहीन भई आफ्नो अधिकारबाट वञ्चित भएका नागरिकहरुलाई ठूलो राहत भएको अनुभूति गरेका छौँ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट