२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

विराटनगरमा ‘घर निर्माण प्रदर्शनी २०२६’ आयोजना हुँदै, निर्माण क्षेत्रको प्रवृद्धनमा जोड

बिहिवार , चैत्र ५, २०८२

विराटनगर । उद्योग संगठन मोरङले पहिलोपटक विराटनगरमा “घर निर्माण प्रदर्शनी २०८२ (सिआईएम होम बिल्ड एक्स्पो २०२६)” आयोजना गर्ने भएको छ । यही चैत्र १२ देखि १६ गतेसम्म जैन भवन, विराटनगरमा सञ्चालन हुने उक्त प्रदर्शनीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा आयोजकले निर्माण क्षेत्रको समग्र विकास, प्रवद्र्धन र सहकार्य विस्तारका लागि यो कार्यक्रम महत्वपूर्ण हुने विश्वास व्यक्त गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै संगठनका अध्यक्ष नन्दकिशोर राठीले निर्माण क्षेत्र नेपाली अर्थतन्त्रको एक महत्वपूर्ण आधार भएको उल्लेख गर्दै यस क्षेत्रलाई थप चलायमान बनाउन र स्वदेशी उत्पादनलाई प्रवद्र्धन गर्न प्रदर्शनी आयोजना गरिएको बताए । उनले व्यवसाय–देखि–व्यवसाय बी टु बी तथा व्यवसाय–देखि–उपभोक्ता बी टु सी सम्बन्धलाई मजबुत बनाउँदै लक्षित बजार विस्तार गर्ने उद्देश्यसमेत रहेको स्पष्ट पारे ।

प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छाका अनुसार निर्माण क्षेत्रसँग सम्बन्धित सम्पूर्ण मूल्य शृंखलालाई एउटै छानामुनि ल्याउने प्रयासस्वरूप यो एक्स्पो आयोजना गरिएको हो । “उत्पादक, सेवा प्रदायक, डिजाइनर, नीति–निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद र सहकार्यका लागि यो महत्वपूर्ण मञ्च हुनेछ,” उनले भने ।

प्रदर्शनीमा घर निर्माणसँग सम्बन्धित कच्चा पदार्थदेखि लिएर अन्तिम सजावटसम्मका विभिन्न उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछन् । सिमेन्ट, इटा, स्टिल, वाटरप्रुफिङ, इन्सुलेसन, पाइप, फिटिङ, स्यानिटरी सामग्री, विद्युत् उपकरण, सौर्य ऊर्जा प्रणाली, स्मार्ट होम प्रविधि, लिफ्ट, साउन्डप्रुफिङ, सुरक्षा प्रणाली लगायतका सामग्रीहरू प्रमुख आकर्षण रहनेछन् । साथै, मोड्युलर किचन, वार्डरोब, ढोका–झ्याल, हार्डवेयर, पेन्ट, फ्लोरिङ, फर्निसिङ तथा इन्टेरियर डिजाइनसम्बन्धी सेवाहरू पनि प्रदर्शनीमा समेटिनेछन् ।

निर्माण सेवा अन्तर्गत ठेकेदार, परियोजना व्यवस्थापक, उपकरण भाडा सेवा, निर्माणसम्बन्धी सफ्टवेयर तथा स्वचालन प्रविधि प्रस्तुत गरिनेछ । बैंक तथा बीमा कम्पनीहरूले वित्तीय तथा बीमा सेवाबारे जानकारी दिनेछन् । आयोजकका अनुसार प्रदर्शनीमा ७५ भन्दा बढी स्टल रहनेछन्, जसले विभिन्न क्षेत्रका व्यवसायी र उपभोक्तालाई प्रत्यक्ष रूपमा जोड्नेछ ।

आयोजकले निर्माण क्षेत्रको आपूर्ति शृंखला अत्यन्तै व्यापक रहेको उल्लेख गर्दै यसले सामान्य श्रमिकदेखि उच्च दक्ष प्राविधिकसम्मलाई रोजगारी र अवसर प्रदान गर्ने बताएको छ । वर्तमानमा बजार केही संकुचित देखिए पनि यस्ता कार्यक्रममार्फत यस क्षेत्रलाई पुनः सक्रिय बनाउन सकिने विश्वास लिइएको छ ।

प्रदर्शनीको अर्को महत्वपूर्ण पाटो जनचेतना अभिवृद्धि रहेको छ । घर निर्माण हरेक नेपालीको सपना भएकाले सुरक्षित, दिगो र गुणस्तरीय घर कसरी बनाउने भन्ने विषयमा आम नागरिकलाई जानकारी दिन आवश्यक रहेको आयोजकले जनाएको छ। घरको छत चुहिने समस्या, दीमक तथा किरा नियन्त्रण, पुराना भवनको जिर्णोद्धार, सामग्री छनोट र निर्माण मापदण्डबारे विशेषज्ञहरूले मार्गदर्शन गर्नेछन् ।

“सुरक्षित घर, स्मार्ट जीवन” भन्ने नारासहित आयोजना हुने प्रदर्शनीले आधुनिक प्रविधि र दिगोपनलाई प्राथमिकता दिएको छ । हरित भवन, ऊर्जा दक्षता, स्मार्ट होम प्रणाली तथा वातावरणमैत्री निर्माण प्रविधिबारे विशेष जानकारी दिइनेछ । यसले नेपाली निर्माण क्षेत्रलाई आधुनिक, सुरक्षित र प्रतिस्पर्धात्मक दिशातर्फ अघि बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनी अवधिभर प्रत्येक दिन दुई घण्टाका विशेष सत्रहरू सञ्चालन गरिनेछन् । चैत्र १३ गते सुरक्षा केन्द्रित सत्रहरूमा सुरक्षित निर्माण मापदण्ड, भूकम्पीय सुरक्षा, विद्युत् सुरक्षा र अग्नि सुरक्षा विषयमा छलफल हुनेछ । चैत्र १४ गते स्मार्ट डिजाइन अन्तर्गत वास्तुशास्त्र, इन्टेरियर डिजाइन र प्राविधिक योजना सम्बन्धी प्रस्तुति रहनेछ ।

त्यसैगरी, चैत्र १५ गते स्मार्ट घर र आधुनिक जीवनशैली सम्बन्धी सत्रहरू सञ्चालन गरिनेछन्, जसमा घर अटोमेशन, सोलार प्रणाली तथा ऊर्जा दक्षता विषयमा विशेषज्ञहरूले जानकारी दिनेछन् । अन्तिम दिन चैत्र १६ गते भवन मर्मतसम्भार, छत चुहिने समस्या समाधान, दीमक नियन्त्रण तथा पुराना भवनको सुदृढीकरण (रेट्रोफिटिङ) विषयमा विशेष सत्रहरू आयोजना गरिनेछ ।

प्रदर्शनीमा वास्तुशास्त्र कर्नर, इन्टेरियर मोक–अप तथा नवप्रवर्तन क्षेत्रहरू पनि रहनेछन्, जहाँ आगन्तुकहरूले प्रत्यक्ष अनुभव लिन सक्नेछन् । साथै, व्यवसायिक भेटघाट तथा नेटवर्किङका लागि विशेष बी टु बी र बी टु सी बैठकहरूको व्यवस्था गरिएको छ ।

यस प्रदर्शनीमा निर्माण सामग्री उत्पादक, सेवा प्रदायक, डिजाइनर, परामर्शदाता, नवप्रवर्तकहरू प्रदर्शकको रूपमा सहभागी हुनेछन् भने घर निर्माण गर्न चाहने व्यक्तिहरू, निर्माण व्यवसायी, इन्जिनियर, वास्तुविद्, रियल इस्टेट विकासकर्ता, विद्यार्थी तथा नीति–निर्माताहरू अवलोकनकर्ताका रूपमा सहभागी हुने अपेक्षा गरिएको छ ।

प्रदर्शनी बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ र सबैका लागि प्रवेश निःशुल्क राखिएको छ । विराटनगर महानगरपालिकाको प्रवद्र्धनमा आयोजना हुने यस कार्यक्रमका लागि विभिन्न उद्योग, बैंक तथा बीमा कम्पनीहरूले प्रायोजन गरेका छन् ।

आयोजकले यस प्रदर्शनीले निर्माण क्षेत्रका सबै सरोकारवालाबीच सहकार्यको सेतु निर्माण गर्दै नवप्रवर्तन, व्यवसाय विस्तार र बजार सञ्जाल विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट