काठमाडौं । नेवार समुदायको चाडअन्तर्गत पाहाँचह्रेको तेस्रो दिन बिहीबार काठमाडौंको असनमा धुमधामका साथ खटलाई जुधाउने जात्रा मनाइएको छ ।
हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमालाई आ–आफ्नो ठाउँबाट बाजागाजासहितको टोलीले खट जात्रा गरी असन पुर्याएर जात्रा मनाउने परम्परा छ । असनमा पुराएपछि आदर र सम्मान पूर्वक खट जुधाउने र दियोसहितको चिलाख साटासाट गर्ने पराम्परा रहेको छ ।
चिलाख साटासाट गर्ने परम्परालाई असनमा खट जुधाउने भन्ने प्रचलन रहिआएको हो । खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने चलन पनि छ । यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास छ । यस क्रममा विशेष गरी असन र वरिपरि घरका चेलीबेटीलाई पाहुना बोलाई भोज खुवाउने चलन छ । असनमा चिलाख साटासाट गरेपछि तीनवटै अजिमा आ–आफ्नो स्थानमा लगिन्छ ।
पाहाँचह्रे पर्वका अवसरमा उपत्यकाका बिभिन्न स्थानमा पनि देवीदेवताको खट जात्रा हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस