हेटौंडा / सार्वजनिक खर्चमा मितव्ययिता कायम गर्दै प्रशासनिक संरचनालाई थप चुस्त, प्रभावकारी र सेवामुखी बनाउने उद्देश्यसहित वागमती प्रदेश सरकारले मन्त्रालय तथा कार्यालयहरूको संरचनामा व्यापक पुनर्संरचना गरेको छ ।
प्रदेश सरकारले मन्त्रालयको संख्या १२ बाट घटाएर ८ मा सीमित गरेसँगै प्रदेशअन्तर्गत रहने कार्यालयहरूको संख्या पनि पुनः निर्धारण गरिएको छ । नयाँ संरचना अनुसार अब वागमती प्रदेशभर जम्मा १८१ वटा कार्यालयमात्रै सञ्चालनमा रहनेछन् ।
प्रदेश सरकारले २०८३ वैशाख २२ मा प्रदेश कार्यविभाजन नियमावली, २०८० संशोधन गर्दै मन्त्रालयको संख्या घटाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार पुनर्संरचित कार्यालयहरू आगामीसाउन १ गतेदेखि कार्यान्वयनमा आउने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
मन्त्रालय र कार्यालयहरूको संख्या पुनःव्यवस्थित गरिएसँगै कर्मचारी दरबन्दीसमेत समायोजन गरिएको छ । प्रदेश सरकारले यस कदमबाट प्रशासनिक खर्च नियन्त्रण हुनुका साथै सेवा प्रवाहलाई थप प्रभावकारी, बनाउन सहयोग पुग्ने मन्त्रालयको दाबी छ ।
प्रदेश सरकारका अनुसार मन्त्रालय तथा कार्यालयहरूको संख्या घटेपछि आगामी आर्थिक वर्षको बजेट विनियोजन पनि नयाँ संरचनाअनुसार गरिनेछ ।
कुन मन्त्रालय अन्तर्गत कति कार्यालय ?
नयाँ संरचनाअनुसार वागमती प्रदेशका आठ मन्त्रालयमध्ये सबैभन्दा कम कार्यालय मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गत रहनेछन् । यस मन्त्रालय मातहत जम्मा तीन वटा कार्यालय रहने व्यवस्था गरिएको छ । यो मन्त्रालय अन्तर्गत मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश सुशासन केन्द्र, जावलाखेल र प्रदेश किताबखाना, मकवानपुर रहने छ ।
त्यसैगरी सबैभन्दा बढी कार्यालय कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहनेछन् । यस मन्त्रालय मातहत ६० वटा कार्यालय सञ्चालन हुनेछन् ।
यस्तै स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत ५० वटा कार्यालय रहनेछन्, जुन कार्यालय संख्याका आधारमा दोस्रो ठूलो संरचना हो ।
प्रदेश सरकारले मन्त्रालय तथा कार्यालयहरूको पुनर्संरचनाले प्रशासनिक दोहोरोपन हटाउने, खर्च घटाउने तथा नागरिकलाई छिटो, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस